काठमाडौँः निजी क्षेत्रका कम्पनीहरूले पनि आफ्नो ग्राहकको तीन पुस्ते विवरण लिएरमात्र कारोबार गर्नुपर्ने भएको छ। आगामी असोज १ गतेदेखि कार्यान्वयनमा आउन लागेको सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका अनुसार, बैंकले मागेजस्तै केवाइसी 'नो योर कस्टमर' निजी कम्पनीहरूले पनि ग्राहकसँग माग्नुपर्ने भएको हो।
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरूको हकमा यो व्यवस्था लागू हुनेछ। निर्देशिकाको प्रारम्भिक मस्यौदा सार्वजनिक भएको छ। सरकारले यसमा सरोकारवालाहरूसँग सुझाव पनि मागेको छ।
कारोबार गर्ने व्यक्ति वा संस्थाको पहिचान तथा सम्पुष्टि गर्दा वास्तविक धनी तथा हिताधिकारी भएमा त्यसको समेत पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ। यसरी पहिचान गर्दा ग्राहकको ल्याप्चे छाप वा विद्युतीय हस्ताक्षर र कम्पनीको हकमा आधिकारिक छाप र आधिकारिक व्यक्तिको हस्ताक्षर लिनु पर्नेछ।
यसपछि आफूसँग कारोबार गर्न आएको व्यक्ति असली हो/हैन भनेर अनौपचारिक स्रोतबाट पनि बुझ्नु पर्नेछ। यदि कुनै ग्राहकको तीन पुस्ते खुलेन भने कारोबार गर्न बन्देज लगाइएको छ।
कारोबार गर्ने व्यक्ति वा संस्थाले पेस गरेको विवरण मिल्छ वा मिल्दैन भनेर पनि निजी कम्पनीले हेर्नु पर्नेछ। कारोबार गर्नेमाथि कुनै व्यक्तिको कुनै किसिमको प्रभाव वा स्वार्थ हुन सक्ने अवस्था छ वा छैन भनेर पनि हेर्नु पर्नेछ।
कारोबार गर्ने व्यक्ति वा संस्थाको पुर्ख्यौली तथा वर्तमान आर्थिक अवस्था पनि हेर्नु पर्नेछ। कम्पनीले कारोबार गर्ने व्यक्ति वा संस्था पहिचान गर्ने, निजहरूको कारोबार अनुगमन गर्ने तथा त्यस्तो कार्य गर्ने प्रभावकारी व्यवस्था पनि मिलाउनु पर्नेछ।
निर्देशिका पालना नगरेमा सचेत गराउनेदेखि १ करोड रुपैयाँसम्म जरिवाना हुनेछ। व्यवसायीहरूले कडाइका साथ आएको व्यवस्था कार्यान्वयनमा चुनौती रहेको बताएका छन्। यसलाई क्रमिक रूपमा कार्यान्वयन गर्नु पर्ने उनीहरूको सुझाव छ।
पढ्नुस् मस्यौदा