PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बलिउडमा चम्केका अभिनेता राजकुमार रावले कति करोड लिन्छन् एउटा फिल्मको पारिश्रमिक ? 



पहिलोपोस्ट

बलिउडमा चम्केका अभिनेता राजकुमार रावले कति करोड लिन्छन् एउटा फिल्मको पारिश्रमिक ? 

बलिउडमा पछिल्लो समय दमदार अभिनयकै भरमा निकै चम्किएका नायक राजकुमार रावको चर्चा फेरि एकपटक चुलिएको छ। यतिबेला उनको चर्चा चुलिनुको कारण हो– निर्माणाधीन फिल्म ‘चुपके चुपके’।

बलिउडमा राम्रा फिल्म निर्माणका लागि विख्यात निर्देशक ऋषिकेश मुखर्जीले सन् १९७५ मा बनाएको फिल्मको रिमेकमा राजकुमार अनुबन्धित भएको खबर भारतीय सञ्चारमाध्यममा आएको छ। निर्माता भूषण कुमार र लव रञ्जनले निर्माण गर्न लागेको ‘चुपके चुपके’ को रिमेकमा राजकुमारलाई लिएका हुन्।

निर्देशक ऋषिकेश मुखर्जीको कमेडी फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, शर्मिला टैगोर र जया बच्चनजस्ता कलाकार थिए। ऋषिकेश मुखर्जीको फिल्म ‘चुपके चुपके’ पनि उत्तम कुमार र माधवी मुखर्जी अभिनित सन् १९७१ मा निर्मित बंगाली फिल्म ‘छद्मवेशी’ को हिन्दी रुपान्तरण थियो।
राजकुमारले रिमेकमा धर्मेन्द्रले निर्वाह गरेको चरित्रमा अभिनय गर्ने बताइएको छ। हल्ला त के पनि चलेको छ भने फिल्ममा राजकुमारले दोहोरो चरित्र निर्वाह गर्ने छन्। यतिबेला भने फिल्मको स्क्रिप्ट फाइनलाइज भइरहेको बताइएको छ। त्यतिमात्र नभएर निर्देशक र बाँकी कलाकार पनि छनोट गर्न बाँकी नै छ।

तर अन्दाज गर्न सक्नु हुन्छ राजकुमारले यो फिल्मका लागि पारिश्रमिकबापत कति रकम लिँदै छन् ? अनुमान गर्नुस् १ करोड, २ करोड वा ३ करोड। पत्याउनु हुन्न होला, राजकुमारले यो फिल्मका लागि ९ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको पिंकभिला डटकमले उल्लेख गरेको छ, जुन उनको अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक हो।

दमदार अभिनयबाट दर्शकको मन जितेका राजकुमारका पछिल्ला फिल्महरु निकै चलेका पनि छन्। हरर कमेडी फिल्म ‘स्त्री’ हिट भएपछि नै राजकुमारले आफ्नो पारिश्रमिक बढाइसकेका थिए। यो फिल्म हिट भएपछि राजकुमारको ब्रान्ड भ्यालु बढेको थियो। यसपछि नै राजकुमारले आफूलाई बलिउड बक्स अफिसमा ‘मिस्टर भरोसेमन्द’ र ‘डार्क हर्स’का रुपमा उभ्याउन सफल भएका छन्। यो फिल्ममा उनले श्रद्धा कपुरसँग स्क्रिन सेयर  गरेका थिए। सय करोड क्लबमा उक्लिएको फिल्मको सिक्वेल पनि निर्माण हुने भएको छ।

राजकुमारको मौनी रायसँग पनि एउटा फिल्म ‘मेड इन चाइना’ र त्यसपछि जाह्नवी कपुरसँग अर्को हरर–कमेडी फिल्म ‘रुहीआफजा’ पनि प्रदर्शनको क्यु मा छ। त्यसैगरी ‘तुर्रम खान’ पनि प्रदर्शनको लाइनमा छ। यी सबै फिल्म चार महिनापछि अर्थात सन् २०२० मा प्रदर्शनमा आउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell