PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विदेशी युवतीले नेपाली बुहारी बनेको ७ वर्षपछिमात्रै नागरिकता पाउने प्रस्ताव कांग्रेसले मानेन



पहिलोपोस्ट

विदेशी युवतीले नेपाली बुहारी बनेको ७ वर्षपछिमात्रै नागरिकता पाउने प्रस्ताव कांग्रेसले मानेन

काठमाडौं : नेपाली कांग्रेसले बैबाहिक अंगीकृत नागरिकताको विषयमा पुरानै व्यवस्थालाई राख्‍न माग गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नेपाली कांग्रेसका दिलेन्द्र बडूले २०६३ सालकै व्यवस्था नभए नमान्ने बताए।

हिजोको बैठकमा नेपाली कांग्रेसले पार्टीमा सल्लाह गर्नुपर्ने भन्दै समय मागेको थियो। हिजै समितिमा मतदान गरेर नागरिकता विधेयक अगाडि बढाउने तयारी थियो। कांग्रेसका सांसदहरुले शीर्ष तहका नेतासँग हिजै यसबारे छलफल गरेका थिए।

आज बिहानदेखि जारी समिति बैठकमा नेपाली कांग्रेसले नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने प्रस्तावित व्यवस्थाको विरोध गरेको हो।

अहिलेको प्रस्तावमा कुनै विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेमा ७ वर्षसम्म परिचयपत्र दिने तर नागरिकता भने त्यसपछिमात्र दिने उल्लेख छ। बिहे गरेर आएकाले ७ वर्षसम्म राजनीतिक अधिकारमा - राजनीतिक नियुक्ति, उम्मेदवार र मतदानसमेत गर्न नपाउने प्रस्ताव गरिएको छ। त्यसैमा कांग्रेसले विरोध गरेको हो।

‘२०६३ को व्यवस्था जस्ताको तस्तै नगरे हामी मान्दैनौं,’ कांग्रेसका बडूले समितिमा भने।

अहिलेको प्रावधान अनुसार विदेशी महिलाको नेपाली पुरुषसँग बिहे दर्ता भएपछि नागरिकता दिने व्यवस्था छ।

विधेयकका अन्य विषयवस्तुमा करिब करिब सहमति भए पनि वैवाहिक अंगीकृत नागरिकताको विषय पेचिलो बन्दै आएको छ। समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) थ्रेसहोल्डका पक्षमा छ। कम्तीमा सात वर्षको थ्रेसहोल्ड राख्न समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरू सकारात्मक छन्। तर, नेपाली कांग्रेस र समाजवादी पार्टी भने उक्त प्रावधानको विपक्षमा उभिएका छन्।

शुक्रबार समितिको बैठकमा कांग्रेस सांसदले आफ्नो पार्टीभित्र नागरिकता विधेयक सम्बन्धमा थप छलफल गर्नुपर्ने भएकाले समय दिन माग गरेका थिए। राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले शनिवारसम्म पनि दलीय सहमति नभए प्रक्रियामा जाने बताइकी थिइन्। अहिले बैठक जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell