PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'पाँच मिनेटमा तीन गोल खाएपछि खेल बिग्रियो'



पहिलोपोस्ट

'पाँच मिनेटमा तीन गोल खाएपछि खेल बिग्रियो'

एएफसी यू १६ अन्तर्गत गएराति भएको खेलमा ५ मिनेटको अन्तरमा तीन गोल खाएपछि नेपालको खेल खस्किएकाे प्रशिक्षक सुनिल कुमार श्रेष्ठले बताएका छन्।

'५ मिनेटको अवधिमा ३ गोल खाएपछि खेलको माहोल नै विग्रियो। हामीले कडा टक्कर दिने प्रयास गरेका थियौं तर अन्तिम नतिजा फरक आयो,' उनले भने, 'जोर्डनका खेलाडीहरुसँग हाम्रो शारीरिक अवस्थासँग हामी मिल्न सकिरहेका थिएनौं।'

त्यस्तै जाेर्डनका प्रशिक्षक कालिल फटाफ्ताले नेपाल रक्षात्मक खेलमा केन्द्रीत भएकाे प्रतिक्रिया दिए।

'५ मिनेट भित्र गरेको ३ गोलले हामीलाई एउटा किनारा दियो। नेपालले राम्रो खेलिरहेका थियो तर हाम्रा खेलाडीहरु पाएको मौकामा चुकेनन्।' उनले भने, 'मलाई लाग्छ नेपाल रक्षात्मक खेलमा केन्द्रीत थियो। उनीहरु अगाडि आएर आक्रमण गर्नु पथ्र्यो।'

नेपालले गएराति जाेर्डनकाे प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टाेली जोर्डनसँग ७–० ले पराजय भोगेको थियो। नेपालले पहिलो हाफमा ५ गोल र दोस्रो हाफमा २ गोल खाएको थियो। 

नेपाल प्रतियोगिताको समूह 'ए' मा छ। समूह 'ए' मा नेपालसँगै जोर्डन, कुवेत, श्रीलंका र ताजकिस्तान रहेका छन्। नेपाल र जोर्डनले गएराति प्रतियोगिताकै पहिलो खेल खेलेका हुन्।

यस अघि नेपाली यू १५ टोलीले दक्षिण एसियाली खेलकुदमा उपविजेता बन्न सफल भएको थियो। साफ खेलेका  कप्तान प्रदिप लम्सालसँगै तीन खेलाडी भने बढि उमेरका कारण टोलीमा समावेश थिएनन्। लम्सालसँगै असिम राई र ईश्वर गुरुङको एमआरआई परीक्षणमा उमेर बढी देखिएपछि टोलीमा समावेश नगरिएको हो।  प्रतियोगितामा ४८ वटा देशले भाग लिनेछन्।

नेपालले बाँकी खेलमा भदौ ३० गते कुवेत, असोज ३ गते ताजकिस्तान र असोज ५ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ। (सबै तस्बिर जाेर्डन फुटबल)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell