कैलालीः सुदूरपश्चिमा स्क्रब टाइफस र डेंगुको संक्रमण भयावह बन्दै गएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा १०४ जनामा स्क्रब टाईफस र ५० जनामा डेंगु देखिएको छ।
पहाडी जिल्ला बाजुराबाहेक सबै जिल्लामा डेंगु र अछाम र बाजुरा बाहेकका सबै जिल्लामा स्क्रब टाइफस देखिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।
खड्काका अनुसार स्क्रब टाइफसबाट सबैभन्दा बढी डडेलधुरामा ५० जना र डेङ्गुबाट कैलालीमा २३ जना संक्रमित भेटिएका छन्। यस्तै स्क्रब टाइफसका कैलालीमा २८, बैतडीमा १२, कञ्चनपुरमा ५, डोटीमा ४, बझाङमा ३ र दार्चुलामा दुई जना संक्रमित रहेका छन्।
यस्तै डेंगुका दार्चुला र कञ्चनपुरमा ९/९ जना, डोटी र अछाममा २/२ जना, बैतडी र बझाङ १/१ जना र डडेलधुरामा ३ जना संक्रमित भेटिएका छन्।
हालसम्म प्रदेशमा स्क्रब टाइफसबाट १ र डेंगुबाट एक गरी २ जनाको मृत्यु समेत भइसकेको छ।
यसको नियन्त्रणका लागि सबैलाई निर्देशन गरिसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव झंकर बहादुर विष्टले बताए। तर संक्रमण भने दिनप्रतिदिन बढ्दै गएको छ।