PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

विलाशी अमेरिकन कार टेस्ला 'चोर बाटो'बाट नेपाल भित्रिँदै, २० दिनदेखि भन्सारमा रोकियो



राधेश्याम पटेल

विलाशी अमेरिकन कार टेस्ला 'चोर बाटो'बाट नेपाल भित्रिँदै, २० दिनदेखि भन्सारमा रोकियो
टेस्ला कार

वीरगंज : अमेरिकी गाडी टेस्ला नेपाल भित्रिने क्रममा भन्सारमा रोकिएको छ। संसारकै महँगो मानिने टेस्ला कम्पनीका गाडी अहिलेसम्म नेपाली सडकमा गुडेको छैन। विद्युतीय गाडीमा सरकारले कर छुट दिएका कारण चोर बाटोबाट महँगा गाडी भित्रिन थालेसँगै वीरगंज आइपुगेको हो अमेरिकन गाडी टेस्ला। यसैगरी भित्रिन लागेको ज्यागुअर पनि भन्सारमा रोकिएको छ।

अर्थ मन्त्रालयले चासो राखेपछि प्रिन्सा अटोमोटिभले जस्तै गरी आयात गरिएका टेस्ला र विद्युतीय ज्यागुआरको भन्सार जाँचपास रोकिएको हो।

आवश्यक कागजात प्राप्त नभएपछि टेस्ला र विद्युतीय ज्यागुआरको भन्सार जाँचपास रोकिएको वीरगञ्जस्थित सिर्सिया भन्सार प्रमुख उमेश श्रेष्ठले जानकारी दिए।

विद्युतीय ज्यागुअर कार काठमाडौंको किशोर गियर प्रालिले र अमेरिकन कम्पनी टेस्ला मोटर्सले उत्पादन गरेको इलेक्ट्रिक टेस्ला कार वेस्टार ग्यालेक्सी ट्रेडिङले आयात गरेको हो।

सिर्सिया भन्सारमा ज्यागुआरका दुई वटा र टेस्लाको एउटा गरी तीनवटा गाडीको भन्सार जाँचपास रोकिएको प्रमुख श्रेष्ठले जानकारी दिए। यी तीन वटा गाडी झण्डै २० दिन अघि वीरगञ्ज आइपुगेका थिए।

‘सवारी साधन पैठारी सम्बन्धी कानुनअनुसार केही कागजात पुगेको छैन, ती कागजात माग गरेका छौं,’ भन्सार प्रमुख श्रेष्ठले भने, ‘कागजात उपलब्ध नगराए हामी कारवाही प्रकृया थाल्छौ।’

उनले अहिले धेरै कुरा गर्न नमिल्ने समेत बताए। अर्थमन्त्री गाडी आयातप्रति कठोर बनिरहँदा यस्ता लग्जरी र महँगा गाडी नेपाल छिर्ने तयारीमा रहेका हुन्।

ज्यागुआर र टेस्लाको कार समेत बेलायतकै जेम्सन कार्टर लिमिटेडबाट आयात गरिएको स्रोतले जानकारी दियो। जेम्सन कार्टर राज वेदीले सञ्चालन गर्ने कार रिटेलर कम्पनी हो। यही कम्पनीबाट जर्मन कम्पनी अडीका तीन वटा विद्युतीय गाडी प्रिन्सा अटोमोटिभले आयात गरेको थियो।

प्रिन्साले जुन प्रक्रियाबाट गाडी आयात गरेको थियो, ज्यागुआर र टेस्ला समेत त्यही प्रक्रियाबाट आयात गरिएको स्रोतले जानकारी दियो। आर्थिक ऐन २०७६ अनुसार प्रिन्साले गाडी आयात गर्न पूरा गरेको प्रक्रिया गैरकानूनी हो।

नेपालमा नयाँ सवारी साधन आयात गर्न दुई वटा बाटा छन्। पहिलो बाटो हो, निर्माता कम्पनीले नेपालमा कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर त्यसमार्फत सवारी साधनको आयात गर्ने।

दोस्रो बाटो हो, निर्माता कम्पनीले नेपालका लागि विदेशस्थित कम्पनीलाई आधिकारिक बिक्रेता तोक्ने अनि त्यही आधिकारिक बिक्रेताले नेपालमा नियुक्त गरेको आधिकारिक बिक्रेतामार्फत सवारी साधन आयात गर्ने।

तर, प्रिन्साको सन्दर्भमा अडीले गाडी निर्यात गर्ने बेलायती कम्पनी जेम्सनलाई आधिकारिक बिक्रेता नियुक्त गरेको छैन्। आधिकारिक बिक्रेता नबनिकनै जेम्सनले भने प्रिन्सालाई आधिकारिक बिक्रेता नियुक्त गरेको छ।

ज्यागुआर र टेस्लाका सन्दर्भमा समेत यही प्रक्रिया फलो गरिएको स्रोतले जानकारी दियो। टेस्ला र ज्यागुआर कम्पनीले जेम्सनलाई नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेका छैन तर जेम्सनले भने विन अथोरोटी नेपालका लागि आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ।

पछिल्लो समय नेपालमा विदेशबाट अनाधिकृत रुपमा कार आयात गर्ने क्रम बढेपछि आयातकर्तामाथि समेत छानविन थालिएको छ। अनाधिकृत रुपमा महँगा गाडी तेस्रो मुलुकबाट भित्र्याएको उजुरीपछि अर्थमन्त्रालयले छानविनका लागि भन्सार विभागलाई मौखिक निर्देशन दिएको थियो।

त्यही आधारमा विभागले सबै भन्सार कार्यालयलाई अनाधिकृत रुपमा आएका गाडीको जाँचपास रोक्न निर्देशन दिएको छ। यो निर्देशनपछि तेस्रो मुलुकबाट आएका गाडी सुख्खा बन्दरगाहमा रोकिएका छन्।

रिटेलर कम्पनीबाट गाडी आयात गरेर बिक्री गर्न पाइदैन। अर्थ मन्त्रालय स्रोतका अनुसार यसरी आयात भएको गाडी जफत गर्न सक्ने समेत अधिकार ऐनले भन्सार विभागलाई दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell