PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फिफा वरीयतामा पाँच स्थान माथि उक्लियो नेपाल



पहिलोपोस्ट

फिफा वरीयतामा पाँच स्थान माथि उक्लियो नेपाल

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा वरीयतामा ५ स्थान सुधार गरेको छ। फिफाले जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १ सय ६१ औं स्थानमा उक्लिएको छ। नेपालको ९ सय ९९ अंक रहेको छ। यसअघि नेपालको ९ सय ५५ अंक रहेको थियो।

फिफा वरीयतामा नेपालको औसत वरियता १ सय ६५ हो। नेपालको सबैभन्दा माथिको वरीयता १ सय २४ हो। सन् १९९३ मा नेपालको वरीयता सबैभन्दा माथि थियो। त्यस्तै सन् २००९ मा १ सय ५२ औं स्थान र २०११ को १ सय ५३ औं स्थान नेपालको उच्च वरीयता रहेको समय हो।

त्यस्तै नेपाल वरीयतामा सबैभन्दा खस्कँदा १९२ औं स्थानमा झरेको थियो। सन् २०१५ मा नेपालको वरीयता १९२ थियो।

दक्षिण एसियाको वरीयतामा माल्दिभ्स १५३, भारत १०४, अफगानिस्तान १४६ स्थानमा रहँदै नेपालभन्दा अघि छन्। यता भुटान १८५ औं, बंगलादेश १८७औं, श्रीलंका २०२औं, पाकिस्तान २०३औं स्थानमा रहँदै वरीयतामा नेपालभन्दा पछाडि छन्।

एसियाली देशहरुमा इरान सबैभन्दा माथिल्लो स्थानमा छ। १५२२ अंक पाएको इरान तालिकाको २३ औं स्थानमा छ। त्यस्तै, जापान ३१ औं स्थानमा र दक्षिण कोरिया ३७ औं स्थानमा रहेका छन्।

फिफा वरीयताको शीर्षस्थानमा १७५२ अंकसहित बेल्जियम रहेको छ। त्यस्तै, दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमशः फ्रान्स, ब्राजिल र इङ्ल्यान्ड रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell