PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिंगापुरबाट फर्केको एघार दिनपछि प्रधानमन्त्री ओलीको सक्रियता बढ्यो, दुई दिनमा संसद र प्रधानमन्त्री निवासको शिलान्यास



कुञ्जरमणि भट्टराई

सिंगापुरबाट फर्केको एघार दिनपछि प्रधानमन्त्री ओलीको सक्रियता बढ्यो, दुई दिनमा संसद र प्रधानमन्त्री निवासको शिलान्यास

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरको दुई साता लामो स्वास्थ्य उपचारपछि भदौ २० गते स्वदेश फर्किए। त्यसपछि प्रधानमन्त्री ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। उनी बालुवाटारमा नै विभिन्न भेटघाटमा व्यस्त रहे। सिंगापुरमा प्लाज्माफेरेसिस गरेर आएपछि बालुवाटारमा ११ दिन आराम गरेका प्रधानमन्त्री ओलीको सक्रियता अहिले बढेको छ।

हुन त उनले आरामकै बीचमा पनि मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको स्विच थिचेर उद्घाटन गर्न एकपटक सिंहदरबार पुगेका थिए। यतिबेला भने प्रधानमन्त्री ओलीले दुई दिनको अन्तरालमा दुई महत्वपूर्ण भवनको शिलान्यास गरेका छन्।

बुधवार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले बालुवाटारमा रहेको प्रधानमन्त्री निवास परिसरमा नै प्रधानमन्त्रीको नयाँ निवासको आज शिलान्यास गरेका छन्।

उनले सिंहदरबार परिसरमा रहेको पुतली बगैँचामा शिलान्यास गरेको संसद भवन अबको तीन वर्षमा निर्माण सम्पन्न गर्ने बताइएको छ। विसं २०५५ साल असार ८ गते तत्कालीन मन्त्रिपरिषदले संसद भवन निर्माण गर्ने निर्णय गरेको थियो। तर, आफ्नै भवन नहुँदा २०६४ सालदेखि संसद् नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आइरहेको छ।

उक्त निर्णय कार्न्यान्वयन नहुँदा भाडामा बस्दै आएको संसद भवन शिलान्यास भएसँगै तोकिएकै समयमा निर्माण सम्पन्न भए संसदले तीन वर्षमा आफ्नै भवन पाउने छ।

प्रधानमन्त्री ओलीले भवनको शिलान्यास पश्चात ट्वीटमा तेकिएकै समयमा तोकिएकै रकममा भवन निर्माण हुने विश्वास व्यक्त गरेका छन्।

उनले बुधवार ट्वीटरमा लेखेका छन्, 'आज सिंहदरबार परिसरमा संघीय संसद भवन शिलान्यास गर्न पाउँदा ख़ुशी लागेको छ। कबोल गरिएको लागतमा तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न हुने आशा गरेको छु।'

त्यसको भोलिपल्टै उनले बालुवाटारमा रहेको प्रधानमन्त्री निवास परिसरभित्रै नयाँ भवनको शिलान्यास गरेका हुन्। प्रधानमन्त्री ओलीले बिहीवार बिहान धार्मिक विधिपूर्वक उनले प्रधानमन्त्रीको अब निर्माण हुने अत्याधुनिक भवनको शिलान्यास गरे। ३० करोड रुपैयाँको लागतमा प्रधानमन्त्रीको नयाँ अत्याधुनिक निवास निर्माण हुनेछ।

प्रधानमन्त्रीको साबिक निवास रहेकै ठाउँ (बालुवाटार)मा अत्याधुनिक नयाँ भवन ९ महिनामा निर्माण हुने भएको छ। प्रधानमन्त्री बसिरहेको हालको निवासको भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकाले नयाँ अत्याधुनिक भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताए।

‘देशको शासन, प्रशासन, विकास निर्माण परामर्श, कूटनीतिक सम्बन्धलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पूरा गर्नेछ।’

उनले ट्वीटरमा नयाँ निवासको शिलान्यासबारे पनि उल्लेख गरेका छन्। 'आगामी आवश्यकतालाई ध्यानमा राखेर, आधुनिक, प्रविधि सम्पन्न प्रधानमन्त्री निवास निर्माण गर्दै छौँ । नयाँ भवन शिलान्यास गर्न पाउँदा खुसी लागेको छ,' उनले ट्वीट गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell