PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

राजनीतिक आन्दोलन गर्नुपर्ने अवस्था नरहेको ने क पा संसदीय दलका उपनेता नेम्वाङको भनाइ, कांग्रेसमाथि पनि ब्यंग्य



पहिलोपोस्ट

राजनीतिक आन्दोलन गर्नुपर्ने अवस्था नरहेको ने क पा संसदीय दलका उपनेता नेम्वाङको भनाइ, कांग्रेसमाथि पनि ब्यंग्य

काठमाडौं : ने क पाका संसदीय दलका उपनेता सुभाष चन्द्र नेम्वाङले अब परिवर्तनका लागि राजनीतिक आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सशस्त्र आन्दोलन गर्नुपर्ने अवस्था यतिबेला देशमा नरहेको बताए।

उनले निराश हुनुपर्ने अवस्था नरहेको बताए। प्रतिपक्षी दलले उठाएका कुराहरुमा ध्यानाकर्षण भएको पनि उपनेता नेम्वाङको भनाइ थियो। प्रतिपक्षका रुपमा आफूले भोगेका भोगाई अझै सम्झनामा ताजै रहिरहेको उनले बताए।

उपनेता नेम्वाङले अहिलेको प्रतिपक्षी दल कांग्रेस सत्तामा रहँदा आफूले कुटाइ खाएको सम्झना गर्दै ब्यंग्य गरे, 'सरकारमा रहेका साथीहरुलाई भ्रम पर्ला, नचिनेर लठ्ठी टाउकोमा पर्ला भन्दै चिन्न सजिलो होस् भनेर दौरा सुरुवाल टोपी लगाएर सिंहदरबारको गेटमा हिँड्दा चेप्टिने गरी कुटाइ खाएको हिजो अस्तिजस्तो लाग्छ।' यस्ता घटना आफ्नो पालामा नहुने पनि उनको भनाइ थियो। साथै उनले प्रतिपक्षीलाई सम्मान गर्न नचुक्ने भन्न बिर्सेनन्।

उपनेता नेम्वाङले संविधानको आधारमा टेकेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। उनले संविधानले जनताको चाहना र भावनालाई मूर्तता प्रदान गरेको बताए। उनले संविधान कार्यान्वयन गरी महत्वपूर्ण काम गरिसकिएको बताए।

'तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छौं। तीन वर्षभित्रमा मौलिक अधिकार सम्बन्धी कानुन निर्माण गरेका छौं। संविधानले तोकेको तीन वर्षभित्र मौलिक अधिकारका कानुन नबनेको भए के हुन्थ्यो?,' उनले भने, 'देश संवैधानिक संकटमा जान्थ्यो।'

उनले शान्ति प्रक्रियाका ऐतिहासिक काम सम्पन्न गरेको बताए। उनले विघटन भएका आयोग पुनर्गठनको काम अन्तिम चरणमा पुगेको पनि बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम एक वर्षमा टुंग्याउने र नटुंगिए म्याद थपेर दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने बताए।

उनले संसद सधैं चलोस् भन्ने लाग्दालाग्दै संसद अवरुद्ध भएकोमा दुःख व्यक्त गरे। भविष्यमा फेरि संसदमा अवरोध नहोस् भनेर समिति गठन गरेर अघि बढ्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell