PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

देउवाको 'बोली'माथि राष्ट्रपति भण्डारीको व्यङ्ग्य : 'मैले त बोलेको बुझिनँ, मिडियाबाट थाहा पाइएला'



नेत्र तामाङ

देउवाको 'बोली'माथि राष्ट्रपति भण्डारीको व्यङ्ग्य : 'मैले त बोलेको बुझिनँ, मिडियाबाट थाहा पाइएला'

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार विरोधी अभिव्यक्तिलाई राष्ट्रपतिले 'नबुझेको' टिप्पणी गरेकी छिन्।

शुक्रबार राष्ट्रिय सभागृहमा  गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले 'गणेशमान सिंह जन आन्दोलन स्वर्ण पदक विभुषण तथा अभिनन्दन कार्यक्रम' आयोजना गर्‍यो जसमा देउवाको बोलीलाई वाह् वाही मिलेको थियो। तर, त्यही बोली चाहिँ राष्ट्रपति भण्डारीले नबुझेको बताइन्।

शुक्रवार १२:१५ बजेका लागि तय गरिएको कार्यक्रममा विशेष अतिथिका रुपमा निम्त्याइएका देउवा १:१५ बजेमात्र आइपुगे। उनी आइपुगेको करिब १ घन्टापछि मात्र प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी आइपुगिन्।

कार्यक्रमस्थलमा आइपुग्नसाथ उनले सुशील कोइरालाको फोटोमा माल्यार्पण गरिन् र कार्यक्रम शुरु भयो।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं सांसद भीमसेनदास प्रधानले स्वागत गर्दै संविधान सबैले मान्ने वातावरण सरकारले बनाउनुपर्ने माग गरे। त्यसैगरी उनले राज्यलाई योगदान पुर्‍याएका नेतालाई राज्यले नै सम्झनुपर्ने सुझाव दिए।

लगत्तै नेपाली कांग्रेसका नेता एवं संविधानसभामा संविधान मस्यौदा समितिका सभापति रहेका कृष्णप्रसाद सिटौलाले आफ्नो मन्तव्य राखे। उनले सुशील कोइराला सदागी नेता भएको उल्लेख गर्दै रोग लाग्दा पनि उपचार नगरी देशको काममा खटेको स्मरण गरे।

त्यसपछि नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सत्तारुढ दलका उपनेता सुभास नेम्बाङले पछिल्लो संविधान जनताले दिएको संविधान भएको र लचक संविधान भएको दाबी गरे। उनले पछिल्लो संविधान धेरै दलको सहमतिमा जारी भएको बताए।

'२०७२ सालमा जारी भएको संविधान ५ वर्ष ८ महिना लगाएर जारी भएको हो। यसमा ३० भन्दा बढी राजनीतिक दलको समर्थन रहेको छ,' नेम्बाङले भने।

देउवालाई तालीको गडगडाहट, तर राष्ट्रपतिको भने व्यङ्ग्य

कांग्रेस सभापति देउवाले सम्बोधन गरिरहँदा दर्शकदीर्घाबाट ताली पायो। सरकारप्रति लक्षित उनका प्रत्येक प्रश्नमा गड्गडाहट्सहित ताली बज्यो।

प्राय कार्यक्रममा 'अफ मुड'मा देखिने देउवा ताली पाएपछि भने खुसीले गद्गद् हुँदै मञ्चको अगाडिसम्मै आइपुगे र हात हल्लाएर आसनमा पुगे।

लगत्तै राष्ट्रपति भण्डारीलाई निम्त्याइयो पोडियममा। पोडियममा पुग्नेबित्तिकै  राष्ट्रपति भण्डारीले देउवातिर लक्षित गर्दै बोलेको नबुझेको र मिडियाबाट थाहा पाउने आशय व्यक्त गरिन्।

'सुझावका रुपमा कुरा राख्छु। यो मञ्चमा वक्ताले बोलेको केही नबुझ्ने रहेछ। नेताहरुले जोशिएर बोल्नुभयो। फ्लोरबाट राम्रो स्वागत भयो,' भण्डारीले भनिन्, 'ताली बज्यो। राम्रो बोल्नुभयो जस्तो लाग्यो। तर, के बोल्नुभयो भन्ने कुरा आम रुपमा बुझिएन। कान सुनिएन। अब मिडियाबाट थाह पाइएला।'

यसरी बोल्दै गर्दा राष्ट्रपति मुसुमुसु हाँसिरहेकी थिइन् भने देउवा आसनमा मुर्मुरिँदै जस्तो देखिन्थे।

त्यसपछि, राष्ट्रपतिले आयोजकलाई सुझाव दिइन्, 'वक्ताहरुले बोलेको कुरा मञ्चमा बस्ने अतिथि गणले पनि सुन्ने व्यवस्था मिलाउनुहोला।'

राष्ट्रपति भण्डारीले सुशील कोइरालाले वीपीको निकट रहेर पुस्तक सम्पादन गरेको व्यक्तिसमेत रहेकाले उनलाई यो पदक प्रदान गरेकोमा प्रतिष्ठानलाई सरहना गरिन्।

के बोलेका थिए देउवाले?

सम्बोधनको शुरुमा देउवाले नेपालको संविधान बहुलवादमा आधारित समावेशी संविधान भएको उल्लेख गर्दै वर्तमान सरकार कार्यान्वयन पक्षमा अल्मलिएको आरोप लगाए।

उनले भने, 'नेतृत्व तहमा महिलाहरुको ३३ प्रतिशत सहभागिता संविधानले नै सुनिश्चित गरेको छ। राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक महिला हुने व्यवस्था पनि संविधानमा उल्लेख छ। यसअर्थमा यो संविधान महिलामैत्री छ।'

देउवाले हालको संविधान जनजातिमैत्री पनि रहेको बताए।

सभापति देउवाले संविधानले ग्यारेन्टी गरेको विषयलाई उल्टाउने प्रयास भइरहेको आरोपसमेत लगाए।

'मिडिया काउन्सिल विधेयक ल्याएर बोल्न नपाउने गरी डण्डा देखाउने काम भएको छ' उनले भने, 'कुनै पनि निहुँमा जनताको स्वतन्त्रता खोस्न पाइदैन। मानव अधिकार खोस्न पाइदैन।'

उनले सरकारले आफ्नै मन्त्रीलाई विश्वास नगरेको बताए। भने, 'आफ्नै मन्त्रीलाई विश्वास गर्न नसक्नेले कसरी देश चलाउँछन्?'

उनले आफूहरुले सहयोग गर्न चाहेको बताए। त्यसकारणले नै कांग्रेसले संसदमा उच्छृंखल गतिविधि नगरेको उनले प्रष्ट पारे। संसदमा यस्ता हर्कत नगरेकोमा सरकारले हेप्न नहुने उनको तर्क थियो। देउवाले भने, 'हामीले सरकारले राम्रो काम गरोस् भनेर सहयोग गरिरहेका छौं। रेलिङ भाँच्ने, कूर्सी फोड्ने काम गरेका छैनौं। त्यसरी सह्यो भनेर हामीलाई हेप्ने?'

संविधान जारी गर्न सफल नेता भन्दै प्रतिष्ठानले पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त उक्त प्रदान गर्ने निर्णय गरेको थियो। पदक राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट कोइरालाका भाई अशोक कोइरालालाई प्रदान गरियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell