PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नागढुङगा-नौबिसे सुरुङमार्ग निर्माणको लागि भोलि सम्झौता हुँदै, तिहारपछि काम थालेर ४० महिनामा सक्ने लक्ष्य



पहिलोपोस्ट

नागढुङगा-नौबिसे सुरुङमार्ग निर्माणको लागि भोलि सम्झौता हुँदै, तिहारपछि काम थालेर ४० महिनामा सक्ने लक्ष्य

काठमाडौं : नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण हुने पक्का भएको छ। सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनीसँग सम्झौता भएसँगै निर्माण हुने पक्का भएको हो।

सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार सोमवार विकास सहायता कार्यान्वयन महाशाखा र जापानीज कम्पनी हाज्मा/आन्दो जेभीबीच सम्झौता हुदैछ। गत बिहीवार भएको कम्पनी प्रतिनिधी र आयोजनाकाबीचको छलफलमा सोमवार सम्झौता गर्ने सहमति भएको थियो।

मुआब्जा वितरण, आयोजनाको अवस्था लगायतका विषयमा आज पनि आयोजना र कम्पनीका बीचमा छलफल चलिरहेको खरेलले जानकारी दिए। बैंक ग्यारेण्टी सहित प्रक्रिया पुरा गरेर कम्पनी आएको आयोजनाले जनाएको छ।

नागढुङगा नौविसे सुरुङमार्गको किसिपढी खोल्सीदेखि सिस्नेखोला करिव २.७ किमी सुरुङमार्ग निर्माण हुनेछ। गुर्जुधारादेखि सुरुङमार्गको प्रवेशमार्गसम्म फ्लाईओभर निर्माण गरिने बताइएको छ। यो करिव ६ सय मिटर लामो हुने आयोजनाले जनाएको छ। कम्पनीले निर्माण सुरु गरेको ४० महिनामा तयार पारेर आयोजनालाई हस्तान्तरण गर्नुपर्नेछ।

असारमै शिलान्यास गर्ने भनिएपनि मुआब्जा वितरण, साईट क्लियर लगायतको प्रक्रिया सक्न समय लागेका कारण ५ महिना ढिला गरि निर्माण सुरु हुन लागेको हो। भोली नै सम्झौता हुने भएपनि निर्माण भने दँशैतिहारपछि मात्रै सुरु हुनेछ। यो अवधिमा कम्पनीले साईटमा क्याम्प राख्ने, उपकरण ल्याउनेलगायत तयारीका कामहरु गर्ने खरेलले जानकारी दिए।

सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ऋण सहयोग गरेको छ। कुल लागत २२ अर्व मध्ये सहुलियत ऋण सहयोग १५ अर्व हुनेछ भने नेपाल सरकारले आफ्नो स्रोतबाट ७ अर्व व्यहोर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell