PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

लुकेको हिरा ‘मिलेनियम ट्रेक’: एकपटक पुग्नै पर्ने पर्यटकीय पदमार्ग

लुकेको हिरा ‘मिलेनियम ट्रेक’: एकपटक पुग्नै पर्ने पर्यटकीय पदमार्ग

पहिलोपोस्ट /पहिलोपोस्ट


  • राजु आचार्य-

करिब दुई दशकअघि घोषणा गरिएको यो पदमार्ग तनहुँको शुक्लागण्डकी गाछेपानीबाट (दुलेगौंडा) सुरु भई स्याङ्जाको वालिङ रामबाच्छामा टुंगिन्छ। दुलेगौँडाको गाछेपानी पोखराबाट काठमाडौँ जाने बाटोमा पर्छ। 

७२ किलोमिटर लामो यो पदमार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छोएको छ ।

पदयात्रा ६ रात ७ दिनको हुन्छ।

पर्यटकले एकसाथ धवलागिरि, अन्नपूर्ण हिमशृङखला, गणेश हिमाल, मनास्लु हिमालको दृश्यावलोकन गर्न पाउँछन्। यो पदमार्गको उचाइ समुन्द्रको सतहदेखि ४२०-१७०९ मिटरसम्म मात्र फैलिएकोले कुनै पनि मौसम घुम्नको लागि उपयुक्त हुन्छ।

संस्कृतिमा समेत यो क्षेत्र धनी छ। घाँटु, सोरठी, कौडा, सालैजो, झोरा, ठाडो भाका, कृष्ण चरित्र, बालन, भजन  आदि लोक संस्कृतिमा समेत यो क्षेत्र उर्वरभूमि हो।

प्राकृतिक ढुङ्गे उद्यान, प्राचीन ढोरबाराही मन्दिर, मिलेनियम गुफा, कोल्माकोट भ्यू टाउर, राङ्गभाङ्को रहस्यमय भ्वाङ, भूतगुफा, पुल्चोक तिब्बेतन क्याम्प, ढोरमूलकोट, छेर्खोलिंग गुम्बा, भिरकोटको मौला कालिका मन्दिर, पेल्काचौर मनकामना मन्दिर, देउपुजे ढुङ्गा, ढुङ्गे गुफा आदि यस क्षेत्रका आकर्षण हुन्।

करिब ३० वटा परम्परागत गाउँहरू हेर्दै छिचोल्न सकिने यो क्षेत्रमा  १७ वटा गाउँहरूमा सामुदायिक होमस्टेहरू सञ्चालित छन्।

यो भेगमा करिब ४२ प्रजातिका स्तनधारी, १४७ प्रजातिका चराहरू, ११३ प्रजातिका पुतलीहरू अभिलेख छन्। ५ प्रजातिका लाटोकोसेरो अभिलेख गरिएको सो क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर सहजै देख सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell