PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

इङलिस प्रिमियर लिगः चेल्सीमाथि लिभरपुलको जित, म्यानचेस्टर युनाइटेड पराजित



पहिलोपोस्ट

इङलिस प्रिमियर लिगः चेल्सीमाथि लिभरपुलको जित, म्यानचेस्टर युनाइटेड पराजित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ। घरेलु टोली चेल्सीलाई उसकै मैदानमा १–२ गोल अन्तरले पराजित गर्दै लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको हो।

गएराति भएको खेलमा लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो। पहिलो हाफमा २–० ले अग्रता बनाएको लिभरपुललाई चेल्सीले १ गोल मात्र फर्काउन सक्यो।

खेलको १४ औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै ३० औं मिनेटमा रोबेर्टो फिर्मेनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। यता ७१ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउन खोजेका थिए। तर, उनको प्रयास खेलमा फर्कन पर्याप्त भएन। र, लिभरपुलले खेल २–१ ले आफ्नो पक्षमा पार्‍यो।

म्यानचेस्टर युनाइटेड पराजित

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड वेस्टह्यामसँग २–० गोल अन्तरले पराजित भएको छ। घरेलु टोली वेस्ट ह्यामले पहिलो हाफको अन्त्यमा १ गोल र दोस्रो हाफमा अन्त्यमा १ गोल गर्दै बलियो प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडलाई २–० ले पछि पार्न सफल भयो।

वेस्ट ह्यामका लागि खेलको ४४ औं मिनेटमा यारमोलेन्कोले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा १ गोलले अग्रता लिएको वेस्टह्यामका लागि दोस्रो हाफमा क्रिसवेलले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले खेलको ८४ औं मिनेटमा गोल गरेका थिए।

आर्सनलको संघर्षपूर्ण जित

गएराति भएको अर्को खेलमा आर्सनलले एस्टन भिलामाथि संघर्षपूर्ण जित निकालेको छ। खेलको ४१ औं मिनेटमा मेइटल्यान्ड निलिस रेडकार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित आर्सनलले जित निकाल्न ठूलै संघर्ष गर्नु पर्‍यो।

आर्सनल पहिलो हाफमा १ गोलले पछि परेको थियो। खेलको २० औं मिनेटमै म्याकजिनले गोल गर्दै एस्टन भिलालाई अग्रता दिलाएका थिए।

आर्सनलले खेलको ५९ औं मिनेटमा पेपेको पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएको थियो। तर, त्यसको एक मिनेट पनि नबित्दै विस्लीले गोल गर्दै भिलालाई फेरि अग्रता दिलाए। पटक पटक अग्रता लिएर पनि भिलाले अग्रता कायम राख्न सकेन। खेलको ८१ औं मिनेटमा चेम्बरर्स र ८४ औं मिनेटमा उबामेयाङले गोल गर्दै चेल्सीलाई ३–२ गोलको जित दिलाउन सफल रहे।

जारी सिजनमा ६ खेल खेलेको लिभरपुल सबै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा छ। यस्तै ६ खेल खेलेर ४ जित, १ हार र १ बराबरी खेलेको म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै समान ६ खेल खेलेर ३ जित २ बराबरी र १ हार बेहोरेका लेस्टर सिटी र आर्सनल तालिकामा क्रमशः तेस्रो र चौथो स्थानमा छन्। म्यानचेस्टर युनाइटेड भने ६ खेलमा २ जित, २ बराबरी र २ हारसहित तालिकाको आठौं स्थानमा छ। चेल्सी पनि ६ खेलमा २ जित, २ बराबरी र २ हार बेहोर्दै तालिकाको ११ औं स्थानमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell