काठमाडौं : बस टिकट काउन्टरमा यतिबेला लामो दूरीका बसको टिकट बुकिङ गर्ने यात्रुको भीड लागेको छ। दशैंलाई लक्षित गर्दै सरकार र यातायात व्यवसायीको समन्वयमा अग्रिम टिकट बुकिङ खुलेसँगै टिकट काउन्टरमा यात्रुको भीड लागेको हो।
नयाँ बसपार्क, गौशाला, चावहिल, पूरानो बसपार्क, कोटेश्वर, कलंकी, सुन्धारालगायतका स्थानमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाइएको छ। ती स्थानहरुमा अग्रिम टिकट खुल्ने अघिल्लो दिन मध्यरातदेखि नै यात्रुको लाइन देख्न सकिन्थ्यो। त्यसमा पनि सबैभन्दा धेरै भीड नयाँ बसपार्कमा थियो।
१२/१३ घण्टा लाइन बस्दा पनि टिकट पाउन धौधौ भएको केही यात्रुहरुले गुनासो गरिरहेका थिए। यस्तो समस्या देखिएको यो पहिलो वर्ष भने होइन। यसअघिका वर्षहरुमा पनि टिकट काट्नकै लागि रातिदेखिनै यात्रुको भीड लाग्ने गर्थ्यो। यस्तोमा कसैले टिकट पाउँथे भने कसैले रित्तो हात फर्किएर अर्को दिन लाइनमा बस्न आउन पर्थ्यो।
प्रविधिले मोबाइल वा अनलाइनमार्फत नै घरमै बसीबसी टिकट काट्ने सुविधा दिएपनि यात्रु भने घण्टौं लाइनमै बसिरहेको छन्। बस सेवा डट कममा अहिले घरमै बसीबसी अनलाइनमार्फत बसको टिकट काट्न सकिन्छ। औपचारिक रुपमा बस सेवाले पनि आइतवारदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ। ४ हजार ४ सय यात्रुले अनलाईनमार्फत टिकट बुकिङ गरेको बस सेवाका संस्थापक पर्शुराम खनालले जानकारी दिए। उनका अनुसार बस सेवासँग ६ हजार सीट दैनिक रुपमा उपलब्ध हुनेछन्।
बस सेवाबाट दाङमा राप्ती यातायात प्राली, बुटवलमा पश्चिम नेपाल बस व्यवसायी, पूर्वमा मकालु, मेट्रो, पोखराका लागि जगदम्बा यातायात, साझा यातायातलगायत मुलुकका मूख्य गन्तव्यका लागि टिकट काट्न सकिन्छ। नेपाल बाहिरका लागि मन्जुश्री यातायातसँग समन्वय गरिएको बस सेवाले जनाएको छ। बस सेवाले १ सय १० वटा कम्पनीसँग समन्वय गरेर सेवा दिएको उनले बताए।
कम्पनीका अनुसार गत बर्ष मात्रै ७ देखि ८ सय दैनिक सीटहरु उपलब्ध थिए। तर अहिले व्यवसायीहरु र यात्रु दुवै उत्साहित भएपछि बस सेवासँग दैनिक ६ हजार सिट उपलब्ध छन्। बस सेवामार्फत टिकट बुकिङ गर्दा इसेवा, आईएमई, प्रभुलगायतका अनलाइन पेमेन्ट एपहरुबाट र सबै बैंकको इन्टरनेट बैंकिङमार्फत भुक्तानी गर्न सकिने खनालले बताए।