PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

४२ महिनापछि नौविसे - नागढुंगा सुरुङबाट सरर..., सुरुङमार्गसँगै दुई फ्लाइओभर बनाउँदै जापानी कम्पनी



पहिलोपोस्ट

४२ महिनापछि नौविसे - नागढुंगा सुरुङबाट सरर..., सुरुङमार्गसँगै दुई फ्लाइओभर बनाउँदै जापानी कम्पनी
प्रतीकात्मक फोटो

काठमाडौं : नेपालकै पहिलो सुरुङमार्ग आगामी ४२ महिनामा तयार हुने भएको छ। पहिलो पटक नौविसे-नागढुङंगा सडक खण्डमा दुईवटा फ्लाई ओभरसहितको सुरुङमार्ग निर्माण गर्न लागिएको हो।

सोमवार सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र जापानिज कम्पनी हाज्मा/आन्दो कर्पोरेशनबीच सुरुङमार्गको निर्माण सम्झौता भएको छ। सम्झौतामा नेपालका तर्फबाट विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका तर्फबाट हिरोसेकले हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम अबको ४२ महिनामा जापानिज कम्पनीले सुरुङमार्ग तयार पारेर नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ।

निर्माण कम्पनीसँग सम्झौता भएको भए पनि निर्माणको काम भने दशैं तिहारपछिमात्रै सुरु हुने छ। यो अवधीमा निर्माण कम्पनीले साइटमा क्याम्प राख्र्ने, निर्माण उपकरणहरु ल्याउने, डिपिआर अध्ययन गर्ने, योजना बनाउने, लगायतका आयोजना पूर्व तयारीका कामहरु गर्नेछ।

यो सुरुङमार्गमा कामदारभन्दा पनि उच्चतम प्रविधिका उपकरणहरु प्रयोग गरेर बनाइने निर्माण कम्पनीका प्रतिनिधिहरुले बताएका छन्। 'मेसिन बेस' भएर यो सुरुङमार्ग निर्माण हुनेछ।

महाशाखा प्रमुख थापाका अनुसार विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा भए अनुसार सुरुङ मार्गको क्यारिज वे ९.५ मिटरको हुनेछ। ३.५/३.५ मिटरका दुईवटा लेन हुनेछन्। जसमा सवारीसाधन हिड्नेछन्। बीचमा मेडियन हुनेछ। दुईपट्टी सोल्डर रहनेछ।

सुरुङमार्गसँगै समानान्तर हुने गरी स्केप्ट टनेल निर्माण हुनेछ जुन प्रत्येक २ सय ५० मिटरमा मुख्य सुरुङमार्गसँग भित्र बाहिर गर्न मिल्ने गरी जोडिनेछ। भित्र दुर्घटना भए वा समस्या आएमा बाहिर निस्कनका लागि यसको प्रयोग हुनेछ। यसमा एम्बुलेन्स समेत जान सक्ने गरी बनाइने छ।

सुरुङमार्ग थानकोटस्थित नेपाल आयल निगमको डिपो नजिकैकको किसिपढी खोल्सीदेखि सिस्नेखोलामा निर्माण हुने छ। यसको लम्बाइ २.७ किमीको हुनेछ। पश्चिमतर्फ ५ सय ६५ मिटरको एप्रोच लिङ्क निर्माण हुनेछ भने पूर्व तर्फ २३०७ मिटरको लिङ्क सडक निर्माण हुनेछ।

सतुङगलबाट सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्नका लागि दुईवटा फ्लाई ओभर निर्माण हुनेछ। सातवटा साना पुल र ११ वटा बक्स कल्भर्ट निर्माण हुने थापाले जानकारी दिए। उनका अनुसार सिस्नेखोलातिर ४४ रोपनीमा सर्भिसिङ स्टेशन, चमेना गृह, फ्युल स्टेशन, स्थानीय उत्पादित सामाग्रीहरु प्रदर्शनी स्थल लगायतका संचरना निर्माण हुनेछ।

सुरुङमार्गको प्रवेश मार्ग छेउमा मेन्टिनेन्स बिल्डिङ समेत बन्ने छ। यसले सुरुङमार्ग मर्मत र कुनै समस्या आए हेर्नेछ। 'टोल गेट' समेत निर्माण हुनेछ जसबाट सुरुङमार्गमा आवतजावत गर्दा शुल्क उठाइने छ।

असारमै शिलान्यास गरेर निर्माण थाल्ने योजना रहेको भए पनि साइट क्लियर, मुआब्जा वितरण लगायतका विषयहरु टुङ्ग्याउन समय लागेपछि झण्डै पाँच महिना ढिला गरी आयोजनाको काम सुरु हुन लागेको हो।

संशोधित सार्वजनिक खरीद नियमावली अनुसार आयोजना पूर्व तयारी र साइट क्लियर नगरी ठेक्का लगाउन पाइँदैन। आयोजनाको पूर्व तयारी गर्दा केही ढिला हुन गएको नागढुङ्गा नौविसे सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए।

परियोजनाको धादिङतर्फ मुआब्जा विवाद भएको थियो। व्यक्तिका नाममा नभएका जग्गाहरुको विवाद मिले पनि गुठी र लालपुर्जा नभएका जग्गाहरुको समस्या निस्किएको थियो। आयोजनाका अनुसार धादिङतर्फ कुल १ सय ९ रोपनी अधिग्रहण गरिनेछ। जसमा सुरुङमार्गसम्म पुग्ने पहुँचमार्ग र संरचनाहरु निर्माण हुनेछन्। ती समस्या समेत हल हुने चरणमा पुगेको आयोजनाले जनाएको छ।

आयोजनाले निकालेको अन्तर्राष्ट्रिय बोलपत्रमा ४३ वटा कम्पनीले आवेदन दिएका थिए। जसमध्ये ६ वटा अन्तराष्ट्रिय कम्पनी प्राविधिक पास भएका थिए।

जसमा सबैभन्दा उत्कृष्ट जापानी कम्पनी ठहरिएको महाशाखाले जनाएको छ। कुल लागत २२ अर्बमध्ये सहुलियत ऋण सहयोग १६ अर्ब हुनेछ भने नेपाल सरकारले आफ्नो स्रोतबाट ६ अर्ब व्यहोर्ने छ।

१६ अर्बको ०.०१ प्रतिशत नेपालले ब्याज तिर्नुपर्नेछ। जापानिज कम्पनीसँग साढे १३ अर्ब रुपैयाँमा सम्झौता भएको हो। बाँकी रकम मुआब्जा लगायतका खर्च भइरहेको आयोजनाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell