PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

सरकारी काजगात कीर्ते गर्ने इन्जिनियर गोइत पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

सरकारी काजगात कीर्ते गर्ने इन्जिनियर गोइत पुर्पक्षका लागि थुनामा

सप्तरीः कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन्।

उच्च अदालत जनकपुर राजविराज इजलासले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेश अनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको अदालतले जनाएको छ। जिल्ला अदालतले गत जेठ ६ गते उहाँलाई रु चार लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो। जिल्ला अदालतको बेरितको आदेश बदर गर्दै गोइतले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए।

उच्च अदालत जनकपुर राजविराज इजलासले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गर्‍यो। सोही मुद्दामा पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल कारागारमा थुनामा छन्।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि कीर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात कीर्ते गरेको अभियोगमा यादव र मण्डल गत वैशाख ५ गते पक्राउ परेका थिए।

पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर रहेका बेला गोइतले राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोग छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell