काठमाडौं : नेपाल भ्रमण २०२० को प्रवर्द्धनका लागि बाह्रखरी मिडिया हाउसले सगरमाथा क्षेत्रमा गल्फ प्रतिस्पर्धाको आयोजना गर्ने भएको छ।
प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गर्न लागिएको हो ।
गल्फ प्रतियोगिता दुई चरणमा हुने जनाइएको छ। पहिलो– २० अक्टुबर २०१९ का दिन ४२५० मिटर उचाईमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन्। दोस्रो चरणमा, सबै गल्फरले अक्टुबर २६ का दिन काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन्। दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन्। दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्नेछन्।
गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार पारिँदै छ। प्रतियोगितालाई संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने जनाइएको छ। एनसेलको प्रयोजनमा हुने प्रतियोगितालाई भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन्। बाह्रखरी मिडिया इभेन्टस् प्रतियोगिताको आयोजक हो।
प्रतियोगितबारे आयोजित पत्रकार सम्मेलनमा भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्यले यसको सफलताको शुभकामना दिए। नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा बाह्रखरीले आयोजना गरेको यस कार्यक्रममा विश्वभरबाट पत्रकार आउनु सकारात्मक विषय भएको बताए।
'विश्वभरका मिडियाको चासो सगरमाथाप्रति देखिन्छ । यो संसारभर समाचारको विषय पनि हो,' उनले भने।
बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए।