पाँच दशमलब ८ म्याग्नेच्युड क्षमताको भूकम्पमा परी पाकिस्तानमा कम्तिमा ८ जनाको मृत्यु भएको छ भने सयजना भन्दा धेरै घाइते भएका छन्।
पाकिस्तानी पत्रिका डानका अनुसार भूकम्प ८ देखि १० सेकेन्डसम्म महसुस गरिएको थियो। इस्लामावाद, आजाद कास्मिरको मिरपुर, पेशावर, रावलपिण्डी, लाहौर, सियालकोट, सरगोढा, मन्सेरा, गुजरात, चित्राल, मलाकन्द, मुल्तान, शहङ्ला, बाजौर, स्वात, साहिवाल र रहिम यर खान लगायतका शहरहरुमा कडा भूकम्प महसुस भएको थियो।
डिभिजनल कमिस्नर चौधरी मोहम्मद तैयवले कम्तिमा ८ जनाको मृत्यु भएको बताएका छन्। उनका अनुसार मर्नेमा तीन बालबालिका छन्। उनका अनुसार मिरपुरमा मात्र १ सयभन्दा धेरै घाइते भएका छन्। मिरपुरका अस्पतालमा संकटकाल घोषणा गरिएको छ।
भूकम्पले यहाँको सडक समेत क्षतविक्षत बनाएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भूकम्पको झड्का दिल्लीसम्मै महसुस गरिएको छ।