PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

कृषि विकास बैंकको सफ्टवेयर ह्याक प्रकरणमा संलग्न एक एजेण्ट स्याङ्जाबाट पक्राउ



रासस

कृषि विकास बैंकको सफ्टवेयर ह्याक प्रकरणमा संलग्न एक एजेण्ट स्याङ्जाबाट पक्राउ

काठमाडौं : कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर रकम निकालिएको घटनामा संलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले जानकारी दिए। उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौं ल्याएर घटनाको अनुसन्धान गरिने उनले बताए। उनको बैंक खातामा ६५ लाख रुपैयाँ जम्मा भएपछि उनले निकाल्न भ्याएका थिएनन्।

यसअघि महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेण्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी चार करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ निकालेका थिए। 

त्यसमध्ये १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ। प्रहरीले ६० लाख रुपैयाँ बरामद गरिसकेको छ। यसका मुख्य योजनाकार अफ्रिकीमूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका थिए। उनले पाँच अर्ब रुपैयाँ निकाल्ने योजना बनाएको खुल्न आएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell