दशैं लक्षित फिल्म 'रातो टीका निधारमा' भोलि(शुक्रबार) देखि प्रदर्शनमा आउँदैछ। फिल्मका निर्देशक तथा निर्माता हुन्, अशोक शर्मा।
यसै फिल्मबाट उनका छोरा अंकित शर्माले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। यसअघि अंकितले बुवा अशोक निर्देशित फिल्म 'जय भोले'मा निर्माताको रुपमा काम गरेका थिए। तर यसपटक भने अंकितले होम प्रोडक्सनमा निर्माण भएको फिल्म 'रातो टीका निधारमा'बाट मुख्य अभिनेताको रुपमा डेब्यु गरेका छन्।
फिल्मलाई लिएर निर्देशक शर्मा निकै उत्साहित छन्। यसै विषयमा शर्मासँग मन्दिरा खत्रीले गरेको कुराकानी:
भोलिबाट रातो टीका प्रदर्शनमा आउँदैछ, कतिको उत्साहित हुनुहुन्छ?
हामीले सक्दो मेहनत गरेका छौं। फिल्म राम्रो बनेको छ। दर्शकलाई फिल्म कतिको मनपराउँछन्, कस्तो प्रतिक्रिया दिनुहुन्छ होला भनेर उत्सुकताकासाथ पर्खिरहेको छु।
हाम्रो प्रयास चाहि राम्रो फिल्म बनाउने र दर्शकलाई सक्दो मनोरञ्जन दिने हो। ट्रेलर तथा गीतहरु हेरेर दर्शकले राम्रै प्रतिक्रिया दिइरहनु भएको छ। त्यसैले फिल्मलाई पनि दर्शकहरुले रुचाइदिनु हुन्छ भन्ने अपेक्षा गरेको छु।
छोरालाई हिट बनाउन साम्राज्ञीको साहारा लिएको भन्छन् नि?
फिल्ममा कुनै न कुनै अभिनेत्रीलाई त लिनै पर्यो। त्यो भूमिकालाई न्याय गर्न सक्ने केही अभिनेत्रीहरुसँग हामीले कुरा गरेका थियौँ। तर व्यस्तताको कारण अन्यले फिल्मको लागि समय दिनु भएन। छोरालाई हिट बनाउने नाममा साम्राज्ञीको साहारा लिएको भन्ने खबर गलत हो। समय र परिस्थिति मिल्दा साम्राज्ञीलाई नै फिल्मको लागि फाइनल गरिएको हो।
छोरीलाई हिरोइन बनाउनेबारे चाहि सोच्नु भएको छैन?
त्यो विषयमा पनि बिस्तारै सोचौँला। अब त्यो त उसको इच्छामा पनि भर पर्छ। उनले फिल्म खेल्ने इच्छा राखिन् भने नहुने भन्ने के छ र। कृति अहिले फिल्म इन्डस्ट्रीमा नयाँ छ, भर्खर फिल्म निर्माणमा हात हालेकी छे। पछि उसलाई हिरोइन बन्ने इच्छा लाग्यो भने अवश्य त्यो पनि पुरा होला।
फिल्म निर्माणमा समय र लगानी कति लाग्यो?
फिल्म त लगभग १ करोड ७५ हजारको लागतमा निर्माण भएको छ तर अहिले पनि खर्च हुने क्रम जारी नै छ। फिल्मको प्रमोसन भन्यो, यता उति गर्दा अझै खर्च हुने देखिन्छ। 'रातो टीका निधारमा'को छायांकन गर्न धेरै समय लागेन। सम्पूर्ण टिम यति सहयोगी र एक्टिभ हुनुहुन्थ्यो कि हामीले ३४ दिनमै फिल्मको छायांकन सकाएका थियौं।
आगामी दिनमा कस्तो फिल्म ल्याउने योजना छ?
अहिले कस्तो फिल्म बनाउने भनेर सोचि हालेको छैन। पहिला रातो टीका निधारमा हेरेर दर्शकले कस्तो प्रतिक्रिया दिनुहुन्छ हेरुम अनि मात्र अर्को फिल्मको लागि हामी काम गर्नेछौं।