- हेम रोकाहा/मुकुन्द घिमिरे-
केही दिनअघि अमेरिका र ओमनसँग त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा भयो। नेपाली टोलीका नियमित सदस्य सोमपाल कामी सिरिज खेल्ने खेलाडीको सूचीमा परेनन्। कारण थियो उनको चोट।
काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लिगमा आलोपालो लिड गरिरहेका त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र मछिन्द्र क्लबका कप्तान विराज महर्जनले बीचमा केही खेलहरु गुमाए। कारण चोट नै थियो।
चोटकै कारण इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफोर्ड पछिल्ला खेलहरुमा सहभागी छैनन्। उनले स्ट्रेस फ्याक्चरका कारण अब हुने केही खेलहरु गुमाउने छन्। उनी ठीक भएर खेलमा फर्कन कम्तीमा ६ हप्ता लाग्ने बताइएको छ। त्यस्तै टोटेनहमका स्ट्राइकर ह्यारी केन पनि पछिल्ला खेलहरु खेलेका छैनन्।
खेलकुदका क्रममा यस्ता चोटलाई सामान्य रुपमा नै लिइन्छ। व्यवसायिक खेलाडीहरुले फिटनेसदेखि चोटसँग दिनहुँ जुध्नुपर्ने हुन्छ। एकातर्फ खेलाडीहरु चोटसँग जुधिरहेका हुन्छन् अर्कातिर उनीहरुको फिटनेसबारे समर्थकहरुको चासो हुन्छ।
क्रिकेटमा ब्याट्सम्यानले छक्का हान्न होस् वा बलरले विकेट लिन, उसको फिटनेसले पनि धेरै प्रभाव पार्छ। शारीरिक र मानसिक रुपमा तयार खेलाडीले मात्रै खेलमा सोचेजस्तो प्रदर्शन गर्न सक्छन्। त्यसैले खेलाडीको लागि फिटनेस निकै महत्वपूर्ण हुन्छ।
नेपाली क्रिकेटरले खेलमा गर्ने प्रदर्शनका आधारमा उनीहरुको फिटनेसबारे प्रश्न पनि उठ्ने गरेका छन्। ती सबै प्रश्नको जवाफ दिनुपर्छ विक्रम न्यौपानेले। नेपाली क्रिकेट टिममा खेलाडीलाई फिट राख्ने जिम्मेवारी छ उनैको काँधमा।
सानैदेखि रुचि थियो क्रिकेटमा। क्रिकेटमा आबद्ध हुन मन लाग्थ्यो। रुचि क्रिकेट, लक्ष्य डाक्टर बन्ने। खेलसँगको आत्मीयताकै कारण उनले स्पोर्ट्स फिजियोथेरापीमा मास्टर्स गरे। अहिले उनी आफ्नै रुचिको खेल क्रिकेटमा आबद्ध छन्। तर, खेलाडीका रुपमा हैन। फिजियोका रुपमा।
खेलको समयमा बिहानदेखि बेलुकासम्म खेलाडीको स्वास्थ्यको नजिकबाट नियाल्नुपर्छ। न्यौपाने यसलाई व्यक्तिगत जिम्मेवारी नै सम्झिन्छन्। कामलाई उनी जागिरका रुपमा लिँदैनन्। हरेक समय खेलाडीको स्वास्थ्यप्रति एलर्ट रहन्छन् उनी।
लक्ष्यले रोजेको काम। खेलाडीलाई फिट राख्नेदेखि, उनीहरुको खानेकुराको प्लानिङ र घाइते भएका बेला रिकभर गराउने जिम्मेवारी उनकै काँधमा हुन्छ। विशेषगरी खेलाडीहरु घाइते भए अझ बढी ध्यान दिनुपर्ने हुन्छ।
इन्ज्युरी अनुसारको ट्रिटमेन्ट
न्यौपाने सबै खेलाडीमा एकै प्रकारका इन्ज्युरी हुने भए पनि खेलाडीको भूमिका अनुसार शरीरको भाग फरक हुने बताउँछन्।
खेल अनुसार इन्ज्युरीको प्रकार पनि फरक फरक हुने गर्छन्। खेलाडीमा प्रायः जसो लोब्याक पेन, खुट्टा फर्किने, ह्यामस्ट्रिङ तन्किने, फ्याक्चर जस्ता इन्ज्युरी देखिने गर्छ। क्रिकेटको तुलनामा फुटबलमा बढी इन्ज्युरी हुन्छ, 'कन्ट्याक्ट गेम' भएकाले। क्रिकेटमा भने 'लङ टर्म' वाला इन्ज्युरी हुन्छ। तर तुलनात्मक रुपमा क्रिकेटमा इन्ज्युरी हुने चान्स कम हुन्छ।
‘इन्ज्युरीको प्रकार एउटै हो। तर बलर र ब्याट्सम्यानमा फरक किसिमको इन्ज्युरी हुनसक्छ’, न्यौपाने भन्छन्, ‘बलरमा पनि फास्ट बलर र स्पिन बलरमा फरक इन्ज्युरी हुनसक्छ।’
राष्ट्रिय क्रिकेट टिमबाहेक फ्रेन्चाइज लिगका टिममा पनि न्यौपानेले फिजियोको रुपमा काम गरिरहेका छन्। उनले नेपाली र विदेशी दुवै खेलाडीको 'हेल्थ कन्सियसनेस'बारे बुझेका छन्। धनगढी प्रिमियर लिग (डिपिएल) मा धनगढी स्टार र पोखरा प्रिमियर लिग (पिपिएल) मा बुटवल ब्लास्टरबाट उनले फिजियोको जिम्मेवारी सम्हालेका छन्।
लिगका खेलहरुमा उनले विदेशी खेलाडीहरुको स्वास्थ्यको पनि ख्याल राखिरहेका हुन्छन्। विदेशी खेलाडीहरुलाई फिट्नेसबारे सम्झाउन सजिलो हुने उनको अनुभव छ। तर अहिले भने स्वदेशी खेलाडीमा पनि आफ्नो फिटनेसबारे सचेत बन्दैछन्।
भन्छन्, ‘विदेशी खेलाडीले आफूलाई तोकिएको ट्रेनिङमात्रै गर्छन्, घटिबढी केही पनि गर्दैनन्। हाम्रा खेलाडीहरुमा भने चाहिनेभन्दा धेरै 'पूस' गर्ने चलन छ। पछिल्लो समय यस्ता कुराहरुमा सुधार आएको छ। अहिले हाम्रा खेलाडीहरु पनि वर्कआउटदेखि डाइटसम्मका कुराहरुमा स्ट्रिक्ट हुँदै गएको पाएको छु।’
क्रिकेट खेल भइरहँदा खेलाडीहरुलाई आवश्यक पर्न सक्ने औषधिहरु बोकेरै न्यौपाने स्टेडियममा स्टयान्डबाइ रहन्छन्। तर औषधि छनोट गर्दा पनि निकै ध्यान पुर्याउनुपर्ने हुन्छ। एन्टी डोपिङ एजेन्सीहरुले ‘एप्रुभ’ गरेका औषधिहरु मात्रै छानेर लैजानुपर्ने उनी बताउँछन्।
पछिल्लो समय उनी सिंगापुर र अस्ट्रेलियामा तालिम लिन पुगेका थिए। उनले बुझे -विदेशी खेलाडी र नेपाली खेलाडीमा फिटनेसमा प्रभावपार्ने मुख्य कुरा खेलहरुको 'ग्याप' भन्ने कुरा।
हुन पनि विदेशमा जस्तो नेपालमा खेलाडी न त नियमित अभ्यासमा हुन्छन, न त नियमित खेल नै भइरहन्छ।
‘यहाँ चाहिँ ग्याप पनि भइरहेको छ र त्यो लेभलको ट्रेनिङ पनि भएको छैन। यसले खेलाडीको फिटनेसमा ठूलो प्रभाव पारेको छ,’ उनले भने।
तर पछिल्लो समय क्यानमा नेतृत्व आएसँगै खेलाडीको फिटनेसका लागि चासो देखाउन थालिएको उनले दाबी गरे। क्यान नेतृत्वले सल्लाह मागे बमोजिम आफूले स्वास्थ्यका लागि सुधार गर्नुपर्ने कुराहरु ब्रिफ गरिरहेका छन् उनी अहिले।
दैनिक खेलाडीका चोटहरुलाई हेर्दै आएका उनीसँग खेलाडी घाइते भएर उपचार गर्दाका फरक अनुभवहरु छन्। पछिल्लो समय सोमपाललाई उपचार गरिरहेका उनी सोमपाल लगभग ठिक भए पनि जोखिम मोल्न नचाहेकाले टिमबाट बाहिर रहेको बताउँछन्।
त्यसबाहेक उनी दीपेन्द्रसिंह ऐरीको उपचार गर्दादेखि सागर ढकाल र रासिद खानको उपचार गर्दाको समय सम्झन्छन्।
‘मलेसिया भएको खेलमा रासिद खानको मांसपेशी खुम्चिएको कारणले शरीर नै कोल्टे परेको थियो। उसलाई भोलिपल्ट म्याच खेल्नुपर्ने थियो। साँझ खेल सकेर आइसकेपछि उसलाई रिहाबमा राखेका थियौं। भोलिपल्टको खेलमा उनी ठीक भएर खेल्न सक्ने भए,’ उनले आफ्नो अनुभव सुनाउँदै भने।
‘खेलाडीले 'अप्रिसिएट' गरिदिँदा आफूले ठीक गरिरहेको छु भन्ने हुन्छ। खुसी लाग्छ,’ उनले भने।
भूमिका अनुसार डाइट
खेलाडीको जीवनमा डाइटले ठूलो महत्व राख्छ। न्यौपाने खेलाडीको भूमिका अनुसार डाइट फरक हुने बताउँछन्।
‘अलराउन्डरमा प्रोटिनको डाइट अलि बढी हुन्छ। ब्याट्सम्यान र बलरको खाना फरक हुन्छ। त्यस्तै शरीरको प्रकार हेरेर खाना र ट्रेनिङ फरक हुन्छ’,उनले खेलाडीको डाइटबारे भने, ‘खानेकुरा हामी नै कन्ट्रोल गर्छौँ। खेलको बेलामा मात्रै होइन अन्य समयमा पनि जंक फुडहरु नखान भनिरहेका हुन्छौं। सिनियर टिममा डाइटिङ प्लान सबैले फलो गर्नु हुन्छ। सबैलाई के कति खाने के नखाने भन्ने थाहा हुन्छ।’ तर, रेस्ट डेमा कसैले जंक फुड खान चाहेमा खान दिने गरेको उनी बताउँछन्।
जुनियर टिममा भने यस्ता कुराहरु सबै खेलाडीहरुलाई थाहा नहुन सक्ने भएकाले केही खेलाडीलाईराम्रोसँग सल्लाह दिनुपर्ने उनी बताउँछन्।
७ देखि ८ घण्टा सुत्नपर्ने
डाइट र फिटनेससँगै खेलाडीका लागि निद्रा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। खेलको तयारीदेखि खेल सकेर फर्केपछिसम्म उनले खेलाडीको स्वास्थ्य अवस्था नजिकबाट नियालिरहेका हुन्छन्।
भन्छन्, ‘भोलि खेल्न आज फिट हुनुपर्छ। थाकेको बेला वर्कआउट गर्न हुन्न भन्ने गलत धारणा छ। खेलेर आएपछि पनि वर्कआउट गरेर मसल रिलिज तथा रिल्याक्स गराउन आवश्यक हुन्छ।’
खेलाडीको हिँडाइ, चालढाल तथा पोस्चर हेरेर पनि कतिपय अवस्थामा उनले इन्ज्युरी भएको पत्ता लगाउँछन्। कन्फर्म गर्न अनि टेस्ट गर्न थाल्छन्।
‘खेलाडीमा इन्ज्युरी हुँदा हामीले विभिन्न टेस्टहरु गर्छौँ’, उनले भने, ‘जुन टेस्ट पोजिटिभ आयो त्यसमा वर्कआउट गर्छौँ। अर्को कुरा खेलाडी आफैँले पनि भन्छ कि मलाई यस्तो समस्या भयो भनेर।’
खेलाडीका लागि सबैभन्दा खराब समय भनेको ठूला इन्ज्युरी भएर लामो समय रिह्याबमा बस्नुपर्ने समय हो। जतिबेला एकातिर दुखाईले सताइरहेको हुन्छ अर्कोतिर खेल्न नपाएको फ्रस्टेसन हुन्छ। त्यतिबेला खेलाडीलाई मानसिक रुपमा बलियो बनाउन काउन्सिलिङ पनि दिइरहेका हुन्छन् उनी। रिह्याब सकिएपछि फेरि खेल्न पाइन्छ भन्ने फिल गराउने काममा उनी लाग्छन्। त्यो अवस्थामा रिकभरी फेजका खेलाडीलाई फिट बनाउन स्वयं खेलाडी र फिजियोको समन्वय मिल्नु आवश्यक हुन्छ।
उसो त अन्य देश तथा टिमका फिजियोसँग पनि समन्वय भइरहन्छ, उनको। त्यतिबेला उनीहरुसँग विभिन्न ज्ञानको आदानप्रदान भइरहेको हुन्छ।
अझ फिजियोको एक्सिसभन्दा टाढा रहेका खेलाडीहरुलाई भने उनी खेलअघि वार्मअपमा ध्यान दिन सुझाउँछन्।
क्यानबाट आशा
क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) आइसकेको अवस्थामा खेलका धेरै कुराहरुमा सुधार आउने उनले आशा लिएका छन्।
‘हिजोका दिनमा क्यान नहुँदा आवश्यक फिटनेस उपकरणको अभाव थियो। क्यान आएपछि हामीले अभिभावक पाएका छौँ’, उनले भने, ‘अब सबै उपकरण ल्याउने कुराहरु भइरहेको छ। निकट भविष्यमा नै क्रिकेटको छुट्टै क्लिनिक खोल्ने विषयमा हाम्रो छलफल भइरहेको छ। हामीसँग सबैजसो उपकरणहरु छन् तर अन्य देशका तुलनामा पूर्ण भने छैनौँ।’