काठमाडौं : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन्। पहिलो खेलमा च्यासल युथ क्लबले फ्रेण्डस क्लबसँग भिडने छ भने दोस्रो खेलमा न्युरोड टिम(एनआरटी) र ब्रिगेड बोइज क्लब(बिबिसी) भिड्दै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लबले च्यासलको सामना गर्ने छ। फ्रेन्डस क्लब तालिकाको ११ औं स्थानमा छ भने च्यासल नवौ स्थानमा छ।
च्यासल आजको खेलमा जित निकाल्दै शीर्ष ६ मा उक्लने दाउमा हुनेछ। उसले २ खेलमा जित र ३ बरबरी खेलेर ९ अंक बनाएको छ। आजका खेलमा जित निकालेको खण्डमा उसको छैटौ स्थानसम्म उक्लने सम्भावना रहन्छ।
फ्रेन्डस क्लब २ जित र २ बराबरी खेलेर ८ अंकका साथ तालिकाको ११ औं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा फ्रेन्डस क्लब नवौं स्थानमा उक्लने छ। खेल १२ बजे दशरथ रंगशालामा हुने छ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा एनआरटी र बिबिसी भिड्ने छन्। एनआरटीले ४ खेलमा जित निकालेको छ भने २ बराबरी २ हार ब्यहोर्दै तालिकाको छैटौं स्थानमा छ। आज जित निकालेको खण्डमा उ चौथो स्थानमा उक्लने छ।
अर्कोतर्फ ८ अंकसहित बिबिसी दशौं स्थानमा छ। आजको खेलमा जित निकाले ब्रिगेड ब्वाइज एक स्थान माथि उक्लन सक्छ।