किसानको साथी भनेर चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि स्याङ्जाको राङभाङ-भैसेगौँडामा लाटोकोसेरो उत्सव शुरु भएको छ। उत्सव भोलिसम्म चल्नेछ।
उत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य समेत राखिएको छ। नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८ वर्ष भएको छ। यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा आयोजना गरिएका थिए। यस किसिमको उत्सव नेपाल बाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ।
उत्सवमा स्थानीय साँस्कृतिक कार्यक्रमहरु घाटु, झोरा, सोरठी, कौडा, नौमती बाजा, भजन, सालैजु, २२ ताल भाका, छैटि आदिको प्रदर्शनी गरिएको छ।
उक्त अवसरमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिताको आयोजना र उत्कृष्टको प्रदर्शनी समेत गरिएको छ। सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएका सूचना, चित्र, तथा फोटो प्रदर्शनी पनि गरिएको छ। गहुँको छ्वालीबाट, चुराबाट, ढुंगाबाट, स्टिलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिएका छन्।
आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाइएको छ। उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचिलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ। उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत राखिएको छ।