रुकुमपूर्व : रुकुमपूर्वका उच्च हिमाली तथा लेकाली क्षेत्रमा शनिवार पुनः हिमपात भएको छ। कम हुँदै गएको चिसो हिमपातसँगै फेरी बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ। हिमाली क्षेत्रमा पहिले परेको हिउँ पग्लिन नपाउँदै पुनः हिउँ थपिएको हो।
जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाका माथिल्लो अधिकांश क्षेत्रमा हिमपात भएको छ। यसपटकको हिमपातसँगै जिल्लामा यस वर्षको मंसिर अन्तिम सातादेखि अहिलेसम्म १०/१२ पटकभन्दा बढी हिउँ परिसकेको छ। पटक–पटकको हिमपातको कारण जिल्लावासीको दैनिकी कष्टकर हुने गरेको छ।
पुथाउत्तरगङ्गा गाउँपालिकाकोे भने सबै ठाउँमा हिमपात भएपछि दैनिक कामकाजमा समस्या भएको स्थानीयले बताएका छन्। गाउँपालिकामै हिउँ परेपछि गाउँपालिकासम्म पुग्ने सेवाग्राही र काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिलाई समस्या भइरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन्। हिमपातका कारण सेवाग्राही गाउँपालिकाको कार्यालयसम्म पुग्न नसक्ने भएपछि कर्मचारीलाई नै टोलटोलमा पठाएर दोस्रो चौमासिकको योजना सम्झौताको काम गरिहरहेको पनि उनले जानकारी दिइन्। हिमपात र चिसोकै कारण गाउँपालिकामा सेवा लिन आउनेको संख्या पनि न्यून रहेको उनको भनाइ छ।
हिमपातकै कारण मंसिरको अन्तिम सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग पनि अझै सञ्चालन हुन सकेको छैन। हरेक वर्षको यसै समयमा हिमपात र चिसोका कारण जिल्लावासीले सास्ती खेप्ने गर्दछन्। कृषि र पशुपालन नै यहाँका मानिसको आम्दानीको मुख्य स्रोत हो। हिमपात र चिसोकै कारण भेडाबाख्राका बथानसहित बेँसी झरेका किसानका भेडा पनि मरेका छन्। जसले गर्दा जिल्लावासीलाई झनै समस्या भएको छ। एक हप्ता अगाडि मात्र भूमे गाउँपालिकाको लुकुमबाट चिसो छल्नका लागि दाङ झरेका साढे दुई सय भेडा मरेका छन्।