PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

संसदीय समितिमा कार्यकारी निर्देशक विकल पौडेलको गोलमटोल जवाफ, झुटा विवरण नदिन सांसदहरुको चेतावनी



पहिलोपोस्ट

संसदीय समितिमा कार्यकारी निर्देशक विकल पौडेलको गोलमटोल जवाफ, झुटा विवरण नदिन सांसदहरुको चेतावनी

काठमाडौं : सांसदहरुले सेक्युरिटी प्रिन्टिङ स्थापना सम्बन्धमा झुटा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

सेक्युरिटी प्रिन्टिङ स्थापनाका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका कर्मचारीसँगको छलफलका क्रममा सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिलाई झुटो विवरण दिएर उम्कने गल्ती नगर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारीलाई चेतावनी दिएका हुन्।

सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि सरकारले गरेको प्रस्ताव आव्हान तथा त्यसका प्राविधिक पक्षका सम्बन्धमा मन्त्रालयका सचिव दिपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको जवाफ गोलमटोल र स्पष्ट नभएपछि सांसदहरुले गलत जवाफ नदिन सचेत गराएका हुन्।

सांसद विरोध खतिवडाले फ्रान्स र जर्मनीमा मन्त्रालयका तर्फबाट पटक पटक भएको भ्रमणको खर्च कसले बेहोरेको भनी गरेको प्रश्नमा मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले सबै नेपाल सरकारको तर्फबाट भएको जवाफ दिएका थिए। पछि सांसद खतिवडाले ‘सम्बन्धित कम्पनीले टिकट खर्च बेहोरेको फेला पर्‍यो भने के हुन्छ?’ भनी प्रश्न गरेपछि सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले जर्मनी जाँदा नेपाल सरकारले खर्च बेहोरेको र फ्रान्समा जाँदा आफ्नो टिकट फ्रान्स सरकारले बेहोरेको बताएका थिए।

पौडेलले आफ्नो भनाई छिनमै बदलेपछि सांसदहरुले सबै भ्रमणको सही विवरण बुझाउन माग गरे।

सांसद डाक्टर मिनेन्द्र रिजालले चेतावनी दिँदै भने, ‘तपाईले यहाँ बोल्या कुरा झुटा भयो, प्रमाणभन्दा बाहिर गयो भने संसदको विशेषाधिकार आकर्षित हुन्छ। संसदको विशेषाधिकार आकर्षित भयो र संसदको अपहेलना हुने भो भने दण्ड सँजाय, कैद सम्म गर्न सकिने हुन्छ। त्यसैले म सचेत तुल्याउन चाहन्छु। प्रमाण भन्दा बाहिर गएर बोल्नु हुँदैन भन्ने कुरा ध्यानमा राखेर जवाफ दिनुहोला। आउने दिनमा पनि सो सोचेर जवाफ तयार पारेर आउनुहोला।’

सांसदहरु धर्मशिला चापागाई, राजेन्द्र प्रसाद केसी लगायतले सरकारी दुवै कम्पनी पूर्णरुपमा सरकारी स्वामित्वको भनिएको तर वास्तविकता त्यस्तो नभएकोले झुटा विवरण पेश नगर्न सचेत गराएका थिए।

सांसद इस्तियाक राईले भने, ‘मैले पनि मन्त्रालय चलाएकै हो। कुनै पनि इन्जिनियरले दररेट भन्दा फरक ल्याउँछ भने किन र केका लागि ल्याएको भनी प्रष्ट हामीले ब्रिफिङ लिएर मात्रै प्रक्रिया अगाडि बढाउँछौँ। तसर्थ तपाई पन्छिन मिल्दैन।’

सांसद इस्तियाक राईले ‘भवन निर्माणका लागि प्रतिवर्ग मिटर ६ हजर खर्च आउँछ तर ३४ हजार लागत राखिएको छ किन? कि बमले हान्दा पनि नफुट्ने भवन हो’ भनी प्रश्न गरेका थिए। जवाफमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले इन्जिनियरलाई सोध्नुपर्ने आफूलाई थाहा नभएको जवाफ दिएपछि सांसदहरु आक्रोशित बनेका थिए।

पदीय रुपमा सबै कामको जवाफदेही हुनुको साथै जिम्मेवारी लिनुपर्ने भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै निर्देशक पौडेललाई सचेत तुल्याएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell