विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको छ। यसैका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ। यस्तो अवस्थामा स्वास्थ्य सेवा राम्रो नभएका कुनै पनि देशका जनता आतंकित हुनु स्वभाविक हो। तर, अमेरिका, इटाली, बेलायत लगायत उत्कृष्ट सामाजिक सुरक्षा भएका मुलुकमा पनि संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढ्दो छ।
कोरानविरुद्धको औषधी पत्ता लागि सकेको छैन। न त अन्य मेडिकल उपचार विधि नै। तर, कोरोना भाइरस अर्थात् कोभिड १९ को इपिसेन्टर, वुहान लगायत चीनभर भने उक्त भाइरस संक्रमितको संख्या कम हुँदै गएको छ।
विश्वभर फैलदो कोरोना भाइरस (कोभिड १९)बारे अध्ययन तथा अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनले विज्ञको टोलीलाई चीन पठाएको थियो। युएस नेशनल इन्स्टिच्युट अफ हेल्थका क्लिनिकल निर्देशक क्लिफोर्ड लेनसहित २५ जना विज्ञ उक्त अनुसन्धान टोलीमा थिए। विज्ञको अध्ययन रिपोर्टअनुसार जनवरीको अन्तिम सातादेखि चीनमा कोरोना संक्रमितहरुको सङ्ख्या घट्दो छ।
चीनमा क्रमश: अस्पतालका शैय्याहरु खाली हुँदै गएका छन्। अनि लक्षण देखिएकाहरु परीक्षणका लागि आउने क्रम पनि कम भएको छ। एक महिना अघि हरेक दिन तीन हजारको हाराहारीमा संक्रमित थपिन्थे। तर, मार्च ५ सम्म आइपुग्दा दैनिक १४३ जनामा मात्र संक्रमण देखिएको छ।
प्राणघातक महामारी नियन्त्रणका लागि चीनले गरेको प्रयास र चालेको साहसपूर्ण कदम चानचुने भने छैन। केन्द्रदेखि स्थानीय सरकार तथा सिंगो कम्युनिस्ट पार्टी नै कोरोना भाइरसविरुद्ध जुटेको छ। जनस्वास्थ्यलाई प्रमुख मान्यता दिँदै कार्यकर्ता पनि सचेतना, स्याहार, सहयोग र सेवामा खटिएका छन्।
हुवेइ प्रान्तको राजधानी वुहानमा ६५ हजार ६ सय कोरोना भाइरस संक्रमित देखिएका थिए। एक्कासी फैलिएको भयावह विपत्तीविरुद्ध लड्न चीनका अन्य प्रान्तहरुबाट चालिस हजार कामदारहरु हुवेइमा खटाइए। त्यहाँ भाइरस संक्रमितहरुको स्याहार, उपचार र सेवाका लागि मात्र ४५ वटा अस्पताल सक्रिय छन्। जसमध्ये ६ वटा अस्पतालमा अति जोखिममा रहेका संक्रमित उपचाररत् छन्। त्यस्तै ३९ वटामा ६५ उमेर समूहभन्दा माथिका बिरामीहरुको स्याहार भइरहेको छ।
चीनले छोटो समयमै कोरोना संक्रमितका लागि छब्बीस सय शैय्या सहितको दुई अस्थायी अस्पताल निर्माण गरेको खबर विश्वभरका मिडियाबाट फैलिएको थियो।
त्यस्तै जिम्नेसियम र प्रदर्शनी केन्द्रहरुमा पनि उपचार केन्द्रहरु स्थापित गरिएको छ।
यी अस्पताल र उपचार केन्द्रमा उपचाररत मध्ये ८० प्रतिशत् बिरामी भने खतरामुक्त रहेको खबरले मानिसहरुलाई केही खुशी तुल्याएको छ। अनि संक्रमितहरुको आत्मबल पनि बढेको छ।
चीनको कडा सुरक्षा व्यवस्थापन र चुस्त स्वास्थ्य सेवा प्रणालीको नतिजा विश्वका लागि उदाहरणीय बनेको छ। हाल चीनले हरेक साता १६ लाख 'कोरोना टेस्ट किट' उत्पादन गर्छ। उक्त किटले लक्षण देखिएका एवं अन्यमा संक्रमण भए वा नभएको परीक्षण गरिएकै दिन जानकारी दिन्छ।
यो देश आफैँले उत्पादन गर्छ र त चीनभरका अस्पतालमा सामान्य ज्वरो देखिएकाहरुको पनि कोरोना भाइरस संक्रमण परीक्षण गरी ढुक्क बनाएर पठाउँछ। जनस्वास्थ्यको हकमा चीनले बहन गरेको जिम्मेवारी ऐतिहासिक भएको विज्ञहरुको तर्क छ।
त्यहाँको ग्वाङडङ प्रान्तका तीन लाख बीस हजार मानिसमा गरिएको संक्रमण जाँच उदाहरण हो। जसमध्ये ०.१४ प्रतिशतमा मात्र उक्त संक्रमण देखियो। केहीमा संक्रमण देखियो तर सचेतना र सजकता सबैले अपनाए। त्यसैले त्यहाँ भाइरस फैलिएन। राज्यको संक्रमण नियन्त्रणको प्रयासमा ठूलो टेवा पुग्यो।
तर, औषधी र अन्य फर्मास्युटिकल उपचार विधीमा भरमा चलेको छ, विश्व समूदाय। सामान्य दुखाइले उठ्न नसक्दा औषधी, राती निदाउन नसक्दा औषधी। जति पायो त्यति मिठाइ खान छोड्दैन मानिस। अनि बढ्दो मधुमेह रोक्न औषधी। शरीको तौल घटाउन पनि औषधी। उचाइ बढाउन पनि औषधी। औषधीको भरमा चल्ने समूदायका लागि चीनले अपनाएको विधि सही नलाग्न सक्छ। तर, त्यही विधिले कोरोना भाइरसको संक्रमणले निम्त्याउन सक्ने नतिजालाई उल्टाएको भने सत्य हो।
संक्रमणको तत्काल पहिचान गर्नु, संक्रमितमाथि कडा निगरानी, आइसोलेसन वा क्वारेन्टाइनको पर्याप्त व्यवस्थापन। त्यहाँ भित्र दिइने सेवा र मानवीय स्याहार अनि सार्वजनिक सभा समारोहको रोकथाम - यिनै हुन् ती विधि जसले चीनमा भाइरस संक्रमणको ग्राफलाई स्वात्तै तल झार्यो।
अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योजनाहरुले प्राय यस्ता प्रयोगहरुलाई नजरअन्दाज गरेका हुनसक्छन्। तर, कोरोना भाइरस नियन्त्रण, मृत्युदरमा रोकथामको प्रयास र सार्वजनिक स्वास्थ्य सेवालाई बलियो बनाउन यी उपाय आवश्यक रहेको प्रमाणित गरेको छ चीनले।
विज्ञान, प्रविधि र मेडिकलको क्षेत्रमा विश्वसँग लड्न सक्ने देशहरु पनि यो भाइरसविरुद्ध लड्ने क्षमता हालसम्म राख्दैनन्। त्यसैले पनि चीनले आफू पिल्सिएर प्रवाह गरेको यो उपचार विधि नजरअन्दाज गरिनु हुन्न कम्तिमा यस विश्वव्यापी महामारीको रोकथामका लागि।
संक्रमित निकट मानिसहरुमा परीक्षणलाई अर्को अत्यावश्यक नियन्त्रण विधिका रुपमा अपनायो चीनले। देशभरका संक्रमितहरुसँग अन्तर्वाता लिने क्रम जारी छ। उनीहरु निकट मानिस पत्ता लगाउने र सम्बन्धित व्यक्तिको पनि संक्रमण परीक्षण गरिएको छ।
वुहानमा यसरी अन्तर्वाता लिन र परीक्षण गर्नका लागि अठार सय समूह खडा गरिएको छ। हरेक समूहमा कम्तिमा पाँचजना स्टाफ छन्।
वुहान बाहेक अन्य शहरमा पनि संक्रमण नियन्त्रणको प्रयास कमजोर भने छैन। सनजनमा २ हजार २ सय चालिस जनाको परीक्षण गरिएको थियो। नतिजा - २.८ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखियो।
सिचुवान प्रान्तमा संक्रमितमार्फत् टिपाइएको २५ हजार ४ सय ९३ मानिस मध्ये ९९ प्रतिशत भेटिए र तीमध्ये कुल ०.९ प्रतिशत मानिसमा मात्र संक्रमण देखियो। त्यस्तै क्वाङतङ प्रान्तमा ७ हजार ७ सय ६५ को जाँच भयो। तीमध्ये ४.८ प्रतिशतमा कोरोना भाइरसको संक्रमण भएको पाइयो।
मतलव, संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा संक्रमण सर्ने सम्भावना १ देखि ५ प्रतिशतसम्म रहन्छ।
चमेरोमा ९६ प्रतिशत र छेपारोमा ८६ देखि ९२ प्रतिशतसम्म अनुवांशिक रुपमा हुने कोरोना भाइरस यीनै जनावरबाट मानिसमा सरेको अनुमान गरिएको छ। जसबारे अध्ययन भने जारी छ।
मानिसमा देखिएको संक्रमणको ७८ देखि ८५ प्रतिशत कारण भने संक्रमित व्यक्तिसँगको शारीरिक निकटता नै भएको विज्ञहरु बताउँछन्। त्यसैले कोरोना भाइरसको संक्रमण परिवारभित्रकै एक व्यक्तिबाट अर्कोमा सर्न सुरु भएको देखिन्छ। हाच्छिउँ, थुक, खकारजस्ताका मसिना कणहरु हावामार्फत् सर्नु प्रमुख कारण होइन।
कोरोना भाइरसबाट संक्रमितमध्ये ५ प्रतिशतलाई कृत्रिम स्वासको आवश्यकता रहेको देखिएको छ। त्यस्तै १५ प्रतिशतलाई भने लामो समयका लागि ‘हाइली कन्सन्ट्रेटेड अक्सिजन’ आवश्यक रहन्छ। संक्रमण भएको ३ देखि ६ सातासम्ममा उपचार सम्भव रहेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ। संक्रमणका कारण सामान्य अस्वस्थता भएको हकमा भने संक्रमित व्यक्ति २ सातामै ठीक भएको पनि पाइयो।
विश्व स्वास्थ्य संगठनको टोलीले बेइजिङ, सनचन, क्वान्चाव र छेन्दुजस्ता मुख्य शहरमा गरेको अध्ययनपछि केही जानकारीमूलक एवं रोचक तथ्यहरु पत्ता लगाए। अध्ययन प्रतिवेदनमा कोरोना भाइरस संक्रमणका कारण र प्रभाव पार्ने तत्वहरु बारे पनि समावेश गरिएको छ।
संक्रमितमध्ये ८८ प्रतिशतमा ज्वरो र ६८ प्रतिशतलाई सुख्खा खोकी लागेको देखिन्छ। त्यस्तै ३८ प्रतिशतलाई अति थकान हुने पाइएको छ। खोकी र कफको समस्या ३३ प्रतिशतमा देखियो भने १८ प्रतिशतलाई स्वासप्रस्वासमा गाह्रो भएको देखिएको छ। घाँटीमा घाउ हुने र टाउको दुख्ने लक्षणहरु क्रमश: १४/१४ प्रतिशतमा देखियो। शरीरको मासु दुख्ने समस्या पनि १४ प्रतिशत संक्रमितमा देखियो। ११ प्रतिशतलाई चिलाउने, ५ प्रतिशतलाई वान्ता हुने, ५ प्रतिशतको नाक पोल्ने र ४ प्रतिशतलाई दिसा लागेको थियो।
नाकबाट सिंगान बग्नुलाई भने विज्ञहरुले संक्रमणको लक्षण मानेका छैनन्।
४४ हजार ६ सय ७२ संक्रमित मानिसमा गरेको अध्ययनमा ३.४ प्रतिशत मृत्युदर पुष्टि भयो। संक्रमितको मृत्युमा उमेर, स्वास्थ्य स्थिति, लिङ्ग र स्वास्थ्य सेवा प्रणालीले असर गर्ने पाइयो। (यो तथ्य गत फेब्रुअरी १७ सम्मको हो। समय र स्थान अनुसार नतिजा फरक हुनसक्छ।)
यस्ता छन् मृत्युदर र मृत्युको कारण
चीनमा कोभिड संक्रमित २० प्रतिशत मानिसलाई एक साता लामो अस्पतालको उपचार सेवा आवश्यक पर्यो। तर, त्यहाँ कुल ०.४ प्रतिशत जनसङ्ख्यालाई पुग्ने शैय्या मात्र छ। अन्य विकसित राज्यहरुमा ०.१ देखि १.३ प्रतिशत जनताका लागि पुग्ने शैय्या छ। जसमध्ये प्राय शैय्यामा अन्य रोग र स्वास्थ्य समस्या उपचाररत् बिरामी हुन्छन्।
कोभेडको संक्रमण बढ्दो अवस्थामा संक्रमितको उपचार नै प्राथमिकतामा रहनुपर्छ। त्यसपछि अन्य गम्भीर बिरामीहरुका लागि पर्याप्त शैय्या नभएसम्म क्रमिक रुपमा थप्दै जानुपर्छ। विकल्प खोज्नुपर्छ।
संक्रमितको मृत्युदरमा संक्रमण हुनुअघि रहेको उसको स्वास्थ्यस्थितिले पनि असर गर्छ। चीनमा मृत्यु हुनेमध्ये १३.२ प्रतिशतमा पहिलेदेखि नै मुटुको समस्या देखियो। त्यसैगरी ९.२ प्रतिशत संक्रमितको मृतकमा मधुमेह देखियो। उच्च रक्तचापको समस्या ८.४ प्रतिशत र ८ प्रतिशतमा स्वासप्रस्वासको समस्या रहेछ। मृत्यु हुजे संक्रमितमध्ये ७.६ प्रतिशत मानिसलाई क्यान्सर भएको रहेछ। १.४ प्रतिशत मृतकमा मात्र कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको अनुसन्धानबाट थाहा भयो।
त्यस्तै उमेर समूह र कोरोना भाइरस संक्रमणको प्रत्यक्ष सम्बन्ध रहेको छ। उमेर जति कम भयो संक्रमणको सम्भावना त्यति नै कम हुन्छ। संक्रमित भइहालेको अवस्थामा पनि कम उमेरकाहरुको अवस्था गम्भीर भने हुँदैन। चीनको कूल जनसङ्ख्यामा १३.५ प्रतिशत २० देखि २९ वर्ष उमेर समूहका युवा छन्।
कोरोना संक्रमित ८.१ प्रतिशत मानिस यहीं उमेर समूहको भएको पाइयो। यसको मतलव उक्त उमेर समूहका मानिसमा संक्रमण हुन सक्ने सम्भावना कम छ। रिपोर्टका अनुसार उक्त उमेर समूहका ०.२ प्रतिशत मानिसको कोरोना भाइरसका कारण मृत्यु भयो।
लैङ्गिक अवस्थाले पनि कोरोना संक्रमितको मृत्युदरमा असर पारेको देखियो। महिला पुरुष दुवै यस भाइरस संक्रमणको जोखिममा छन्। तर संक्रमितमध्ये २.८ प्रतिशत महिलाको मृत्यु हुँदा पुरुषमा ४.७ प्रतिशत संक्रमितको निधन भएको देखियो।
गर्भवती महिला भने तुलनात्मक रुपमा ज्यादा जोखिममा रहन्छन्। संक्रमित आमाबाट जन्मिएका ९ शिशुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएन। परीक्षण गरिएका प्राय आमाहरु गर्भावस्थाको अन्तिम त्रैमासिकदेखि संक्रमित थिए। गर्भावस्थाको पहिलो वा दोस्रो त्रैमासिकदेखि संक्रमितहरुले भने बच्चा जन्माइसकेका छैनन्।