PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सर्जिकल मास्कको कृत्रिम अभाव भएपछि प्रशासनले शुरु गर्‍यो अनुगमन



रासस

सर्जिकल मास्कको कृत्रिम अभाव भएपछि प्रशासनले शुरु गर्‍यो अनुगमन

बनेपा : कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिममा नेपाल पनि परेको भन्दै सतर्कता अपनाउन गरिएको आग्रहसँगै औषधि पसल तथा मेडिकल क्लिनिकमा सर्वसाधारणले मास्क र स्यानिटाइजरसमेत किन्न नपाएको गुनासो बढेसँगै जिल्ला प्रशासनले बनेपाको बजारमा अनुगमन शुरु गरेको छ।

औषधि पसल तथा मेडिकल क्लिनिकमा जाँदा मास्क र स्यानिटाइजर नभएको र भए पनि बढी मूल्य लिएको जनगुनासो बढेपछि आज जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंको नेतृत्वमा औषधि पसल तथा मेडिकल क्लिनिकमा अनुगमन गरिएको हो। हुमागाईंको नेतृत्वमा स्वास्थ्य कार्यालयका चिकित्सक, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधिको उपस्थितिमा अनुगमन गरिएको हो।

सो क्रममा बनेपा हेल्थ केयरका सञ्चालक जितेन्द्र थापाले हेल्थ केयरमा पनि मास्कको अभाव भएको बताए।

‘हामीसँग पनि कर्मचारीलाई पुग्नेबाहेकको मास्क छैन, माग गरे पनि आपूर्तिकर्ताले उपलब्ध गराउन सकेका छैनन’, थापाले भने, ‘भएसम्मको त बिक्री वितरण गरिरहेका छौँ।’

उनले अनुगमन समितिलाई अभाव भएको सामग्री उपलब्ध गराउने वातावरण निर्माण गर्न आग्रह गरे।

बनेपा नगरपालिका–७ चारदोबाटोस्थित कृष्णप्रसाद अस्पतालका एक कर्मचारीले अस्पतालमा समेत मास्क नभएको बताए।

‘हामीसँग पनि कर्मचारीलाई प्रयोग गर्ने मास्क छैन, बजारमा खोज्ने क्रममा हिजो मात्रै ३० रुपैयाँ तिरेर दुईवटा किनेर ल्यायौँ,’ ती कर्मचारीले भने।

उत्पादकबाट बजारमा सहजै बिक्री वितरण भइरहेको भए पनि अहिले जिल्लाका मुख्य बजारमा मास्क किन्न नपाउने र पाए पनि महङ्गो तिर्नुपर्ने बाध्यता बनाएको सर्वसाधारणको गुनासो छ। बेथानचोक गाउँपालिका-२ का शिव तिमल्सिनाले बनेपा बजारसम्म आउँदा पनि मास्क किन्न नपाएको गुनासो गरे।

‘अहिले बजारमा मास्क नै किन्न पाइँदैन, भएको ठाउँमा पनि मूल्य बढी लिने गरिन्छ,’ उनले भने।

आफ्नो नजिकको चिन्ने मान्छेलाई बाहेक पसलमा मास्क नै नदिएको तिमल्सिनाले बताए।

बनेपाका रिकेश कायस्थले बजारमा मास्क नै नपाएकाले उत्पादन गर्ने उद्योग नै खोजी गरेर किन्न जानुपर्ने अवस्था आएको बताए।

‘बजारमा मास्क नै पाइँदैन, बल्लबल्ल पाए पनि धेरै पैसा तिर्नुपर्छ’, कायस्थले भने, ‘मास्क खोज्ने क्रममा बल्लबल्ल चिनेका मान्छेको पसलमा पुगेर २५ रुपैयाँ तिरेर किनेँ। हामीले त मास्क एउटा पाउनलाई यति कष्ट र महङ्गो तिरेर किन्नुपर्‍यो भने सर्वसाधारणले कसरी प्राप्त गर्ने?’

तर, मास्क उत्पादक कम्पनी क्लिनसिटी प्रालिका सञ्चालक सुकदेव जोशीले भने उत्पादन गरेको मास्क सहजै ढङ्गले बिक्री गरिरहेको बताए।

नगरपालिका–१३ साँगामा क्लिनसिटी प्रालि सञ्चालन गर्दै आएका सञ्चालक जोशीले भने, ‘हामीले यहाँ उत्पादन गरेको मास्क प्रतिगोटा पाँच रुपैयाँमा बिक्री गरेका छौँ।’

त्यसलाई बजारमा व्यवसायीले १० रुपैयाँसम्म लिने गरेको पाइएको उनले बताए।

उत्पादनभन्दा बढी बजारमा माग भएपछि अभाव हुनु स्वाभाविक भए पनि बढी मूल्यमा बेच्ने र भए पनि व्यवसायीले नदिने गरेको गुनासो आफूकहाँ पनि आएको उनले बताए। उद्योगबाट भने उत्पादन भएको मास्क सहजै रूपमा बजारका व्यवसायी, अस्पताल, औषधि पसल र संघ/संस्थालाई बिक्री गरिरहेको उनको भनाइ छ। तर, कोरोना भाइरसका कारण चीनबाट आउने सामान रोकिएपछि कच्चा पदार्थको अभाव भएकाले भनेजति उत्पादन गर्न नसकेको उनले बताए।

‘सामान सबै चीनबाट आउने हो, तर अहिले सबै सामान नै रोकिएका कारण धेरै समस्या छ,’ जोशीले भने।

सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले भने बनेपा, धुलिखेल र पनौतीका औषधि पसल तथा मेडिकल क्लिनिकमा अनुगमनका क्रममा सर्जिकल मास्क र स्यानिटाइजरलगायतका सरसफाइमा प्रयोग हुने वस्तुको अभाव रहेको पाइएको बताए। त्यसका लागि आवश्यक आपूर्ति गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्बन्धित निकायसँग आवश्यक सरसल्लाह भइरहेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell