काठमाडौं : नेपाल प्रहरीले ‘माल्टा र कुवेत पठाइदिन्छु’ भन्दै अढाइ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न व्यक्तिसँग युरोपियन देश माल्टा तथा कुवेत पठाइदिन्छु भन्दै दुई करोड ५० लाख रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रवार नेपालगञ्जबाट पक्राउ गरी आइतवार काठमाडौंमा सार्वजनिक गरेको हो।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनी ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।
‘पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति १० लाख रुपैयाँ र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति छ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ,’ डिएसपी बोगटीले भने।
श्रेष्ठले माल्टा जानेसँग छ/छ लाख तथा कुवेत जानेसँग तीन/तीन लाख उठाइसकेको प्रहरीले जनाएको छ।
माल्टामा प्रतिमहिना एक हजार २०० युरो र कुवेतमा प्रतिमहिना दुई हजार २०० दिराम कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए। प्रहरीले पक्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरीने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ।