PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

आउँदो महाधिवेशनमा कोइराला परिवारबाट एक जना सभापतिको उम्मेद्वार बन्छ : डा कोइराला



रासस

आउँदो महाधिवेशनमा कोइराला परिवारबाट एक जना सभापतिको उम्मेद्वार बन्छ : डा कोइराला
फाइल फोटो।

लहान : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भागबण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताएका छन्। नेपाल प्रेस युनियन सिरहाले आइतवार लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा कोइरालाले यस्तो बताएका हुन्।

उनले भने, ‘भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन। म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरुद्धमा छु।’

गलत प्रवृत्तिबाट कांग्रेस हिँडिरहेको र यसलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा जोड दिँर्द नेता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले पार्टीलाई नयाँ युवा पुस्ताको नेतृत्व आवश्यक रहेको बताए।

कांग्रेसभित्र कोइराला परिवार पनि भावी नेतृत्वका लागि तयार छ त? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता डा कोइरालाले भने, ‘कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेद्वार बन्ने छ।’

डा शशाङ्क, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उनको भनाइ थियो।

उनले भने, ‘कसले उम्मेद्वारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छौं, तीनमध्ये जो बढी पपुलर हुन्छ उही उम्मेद्वार बन्छ।’

सरकारको गतिविधिका कारण लोकतन्त्र र संविधान खतरामा परेको उल्लेख गर्दै उनले संसद्मा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयकमा लोकतन्त्र र संविधानको भावना विपरीतका कुरा राखिएको भन्दै विरोध जनाए।

सोही पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गरी पार्टी एक ढिक्का भएर अघि नबढे आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell