चितवन : ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। पुलचोकबाट लायन्स चोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।
यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना५ख ९६२२ नंको ट्रकमा कटारीबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख १५९२ नम्बरको बस सोमबार बिहान ठोक्किएको चितवन प्रहरीले जनाएको छ।
ठक्करबाट बसमा सवार ३१ जना मध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
गैँडाको आक्रमणबाट गम्भीर
यसैबीच गैँडाको आक्रमणबाट माडी नगरपालिका–९ की भोजकुमारी विक घाइते भएका छन्। इलाका प्रहरी कार्यालय माडीले विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले आज बिहान आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणबाट गम्भीर घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ।