PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

ट्राफिक प्रहरीको नजरमा होली : प्रभावकारी व्यवस्थापन, नियम उल्लंघन गर्ने करिब २ हजार सवारी चालक कारबाहीमा



पहिलोपोस्ट

ट्राफिक प्रहरीको नजरमा होली : प्रभावकारी व्यवस्थापन, नियम उल्लंघन गर्ने करिब २ हजार सवारी चालक कारबाहीमा
फाइल फोटो।

काठमाडौं : होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने १ हजार ९ सय ४१ चालकलाई कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाले सोमवार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६४५ दुई पाङ्ग्रे र २९६ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र मोडिफाई वा ठूलो आवाज निकालेर चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिए। बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखालगायत उपत्यकास्थित सम्पूर्ण ट्राफिक कार्यालयहरूले ७६ स्थानमा विशेष ट्राफिक जाँच गरेको, त्यस्तै १४ वटा मोबाइल भ्यानबाट मोबाइल जाँच तथा मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरेको महाशाखाका प्रमुख ढकालले बताए।

काठमाडौं उपत्यकाको विभिन्न चोकका सडकमै ‘तीव्र गतिमा सवारी नचलाऔँ’, ‘मापसे गरी सवारी नचलाऔँ’ लगायतका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन गरिएको थियो। यस्ता विभिन्न अभियानबाट ट्राफिक सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख ढकालले बताए।

उनले भने, ‘प्रभावकारी र जनमुखी सचेतनाले नै विगतको भन्दा घटना न्यूनीकरण भएको छ।’

यसैगरी काठमाडौं उपत्यकामा सोमबार २० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ। सो दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन् भने कुनै पनि मानवीय क्षति भएको छैन।

‘विगतको समयमा जस्तो सडकमा उच्छृङ्खल गतिविधि नगरी सबैले हाम्रो विनम्र अनुरोधलाई पालना गरेर होलीलाई संस्कृति अनुसार आपसी शुभकामना तथा सद्भाव साटासाट गरेर शान्तिपूर्ण तवरले मनाइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु,’ ढकालले भने।

ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना समेत लागू गरी प्रभावकारी कार्यान्वयन गरेको जानकारी दिएको छ। राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँचलाई समेत कडा पारिएको थियो।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार महाशाखाले नियमित ड्यूटी वाहेक होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन ५६६ भन्दा बढी ट्राफिक प्रहरी खटाएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell