बनेपा : कोरोना भाइरस (कोभिड-१९)को सन्त्रासले बजारमा मास्क अभाव भएको ठाउँमा धेरै मूल्य लिन थालेपछि यहाँको वडा कार्यालयको नेतृत्वमा त्यसको उत्पादन गरी विद्यार्थीलाई मास्कसँगै साबुन निःशुल्क रुपमा वितरण गर्न थालिएको छ।
बालमैत्री वडा घोषणा गरिसकेको काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका–१० ले वडा अध्यक्ष पुष्पराज राउतको नेतृत्वमा वडाको तर्फबाट कपडा खरिद गरी स्थानीय व्यक्तिहरुबाट नै मास्क उत्पादन गर्न लगाइ वडाभित्रको कालिका माध्यमिक विद्यालय र बालज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई आजबाट निःशुल्क रुपमा वितरण शुरु गरेको हो।
विश्वमा नै फैलिदो अवस्थामा रहेको कोरोना भाइरस (कोभिड-१९)को सन्त्रास बढिरहेको बेला हाम्रा बजारमा मास्क किन्न नै नपाइने र भएको ठाउँमा धेरै पैसा तिरेर किन्नुपर्ने अवस्था सिर्जना भएकाले स्थानीयस्तरमा नै उत्पदान गरेर विद्यालयका विद्यार्थीलाई वितरण गर्न शुरु गरेको वडाध्यक्ष पुष्पराज राउतले बताए।
उनले भने, ‘यो एउटा सामाजिक सचेतनाको लागि स्वास्थ्यको कार्यक्रम भएको र बालमैत्री वडा भएकाले स्थानीय उत्पादनबाट आत्मनिर्भर हुन सकिन्छ भन्ने उदारहण प्रस्तुत गर्दै विद्यालयबाट शुरु गरेका हौँ, यसले कुनै समस्या आइपर्दा आफैँ सचेत र सजग रहन र बन्न सक्छौँ भन्ने उदाहरण भएको छ।’
दिएको कुराले सधैँ परिपूर्ति हुने नभई त्यसले एउटा सचेतनाको अभियान शुभारम्भ भएको नमूनाको रुपमा लिन वडाध्यक्ष राउतले आग्रह गरे। शुरुमा नमूनाको रुपमा प्रस्तुत भएको सो अभियान सफल भएपछि वडाभित्रका करिब दूई हजार ८०० जनसंख्यालाई नै वितरण गर्ने योजनामा रहेको राउतले बताए। स्थानीय जनशक्तिबाट कपडा र सिलाइ ज्याला गरी प्रति थान १२ रुपैयाँमा सो मास्क तयार भएको जनाइएको छ।
धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले मास्कले सबै भाइरस थेग्न सक्ने भन्ने नभई यो एउटा व्यक्तिगत सरसफाइमा सचेत छ भन्ने उदारहण मात्रै भएको बताए।
उनले भने, ‘नेपालमा यो भाइरस आइनसकेको अवस्था भएकाले डराउने तर नतर्सिन आग्रह गर्दछु।’
उपचार गर्नुभन्दा रोकथाम गर्नु राम्रो भएकाले यो सचेतनाको नमूना भएको केसीको भनाइ छ। सो अवसरमा उनले रुघाखोकीभन्दा अलि फरक लक्षण देखिने भएकाले सचेत रहन र सामान्य त्यस्तै लक्षण देखापरेको अवस्थामा तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारको लागि लैजान सुझाव दिए।
सबैभन्दा बढी दूषित वस्तु भनेको मानिसको हात भएकाले साबुन पानीले हातलाई सधैँ सफा राख्न उनले आग्रह गरे। सो क्रममा कालिका माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरी २७० जना र बालज्योति आधारभूत विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरी १४४ जनालाई एक वटा मास्क र एउटा साबुन निःशुल्क रुपमा वितरण गरिएको छ।