PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

कच्चा तेलको मूल्य किन लाग्यो ओरालो? यस्तो छ, साउदी अरब र रुसबीचको तेल राजनीति



पहिलोपोस्ट

कच्चा तेलको मूल्य किन लाग्यो ओरालो? यस्तो छ, साउदी अरब र रुसबीचको तेल राजनीति
Photo: themoscowtimes.com

  • बीबीसी-

बिगत ३० वर्षमा तेलको भाउमा अहिले जति धेरै गिरावट कहिल्यै आएको थिएन। सोमबार जब एसियाली बजार खुल्यो कच्चा तेलको भाउ ३० प्रतिशतसम्म तल झर्‍यो।

कारोबार सुरु हुनासाथ नै एक ब्यारेल कच्चा तेलको भाउ ४० डलरबाट घटेर ३१.५२ डलर भयो। खाडी युद्धपछि एकै कारोबार दिनमा कच्चा तेलको भाउमा यति धेरै गिरावट आएको हो। तेलको भाउमा गिरावट यस्तो समयमा आएको छ जब सारा विश्व कोरोना भाइरसको संकटको सामना गरिरहेको छ।

कोरोनाका कारण विश्वभर तेलको मागमा यसै पनि कमी आइरहेको छ। यसको परिणामस्वरुप विश्वकै सारा शेयर बजारमा पनि निकै कठिन परिस्थिति देखा परिसकेको छ।

तेलको भाउमा आएको गिरावटपछि पनि अचानक सोमबार साउदी अरबले तेल उत्पादन बढाउने निर्णय गर्‍यो।

साउदीको दाउ

साउदी अरबले विश्वको खास बजारहरुमा आफ्नो तेल २० प्रतिशत छुटका साथ पठाउने पनि बतायो। विश्लेषकहरुका अनुसार साउदी अरब तथा रुसबीच तेलको मूल्यलाई लिएर हुने लडाईंको यो पहिलो चरण हो।

https://bizmandu.com/assets/upload/images/rus1.jpg

साउदी अरबको तेल नीतिसँग जोडिएकाहरुलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले एक प्रतिवेदन सार्वजनिक गरेको छ जसमा साउदी अरब आफ्नो तेल उत्पादन प्रतिदिन एक करोड ब्यारलबाट पनि बढाउन सक्छ। अझै दैनिक एक करोड दश लाख ब्यारलसम्म पनि लैजान सक्छ।

साउदी अरब हाल दैनिक ९७ लाख ब्यारल तेल उत्पादन गरिरहेको छ। उसको लक्ष्य योभन्दा पनि धेरै बढी उत्पादन गर्नु हो। तर गत शुक्रबारसम्म पनि साउदी अरब कच्चा तेलमा उत्पादन नबढाउने पक्ष नै लिइरहेको थियो ताकि पहिलेदेखि नै घटिरहेको तेलको भाउलाई सम्हाल्न सकियोस्।।

यस वर्ष कच्चा तेलको भाउमा २० प्रतिशतको गिरावट देखिइसकेको छ। कोरोना भाइरस संक्रमणका कारण यो समय विश्वको अर्थव्यवस्था यस्तो अवस्थामा छ कि यसबाट तेलको भाउ घट्ने क्रम जारी छ। यस्तोमा अचानक त्यस्तो के भयो जसका कारण साउदी अरबले आफ्नो रणनीति बदल्यो।

मित्रतामा फाटो

साउदी अरब विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता देश हो। उसलाई पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेकको अघोषित नेता समेत मानिन्छ।

साउदी अरबको हालको क्षमता दैनिक १ करोड २० लाख ब्यारल तेल उत्पादनको हो। कुनै अन्य देशको तुलनामा तेलको उत्पादन बढाउनु वा घटाउनु पनि साउदीका लागि सबैभन्दा सजिलो छ।

सन् २०१४ मा जब तेलको भाउ घट्न थाल्यो यो सिलसिला सन् २०१६ सम्म रह्यो। त्यस समय ओपेक प्लस नामको अर्को एक समूह अस्तित्वमा आयो। यसमा ओपेक आवद्ध देशहरु त छँदै थिए साथै अन्य तेल उत्पादक देशहरु पनि आए जो ओपेकको सदस्य थिएनन्। ओपेक प्लसमा रुसको विशेष स्थान थियो।

ओपेक प्लसको उद्देश्य उत्पादनमा गरिने कटौतीका विषयमा बिभिन्न देशहरुबीच तालमेल मिलाउनु थियो ताकि मूल्यलाई स्थिर राख्न सकियोस्। यो रणनीतिले गत शुक्रबारसम्म ठिकै काम गरिरहेको यो। शुक्रबार कोरोना भाइरसको कारण तेल उत्पादनमा कटौती गर्ने नयाँ प्रस्तावमा भने रुसले असहमति जनायो।

उत्पादनमा कटौतीको प्रस्ताव किन गरिएको थियो भने दैनिक १५ लाख ब्यारेलले उत्पादन कमी गर्दा विश्वको तेल उत्पादनमा ३.६ प्रतिशतले गिरावट आउँछ। कटौतीमा पाँच लाख ब्यारेल हिस्सा गैरओपेक देशको भागमा थियो।

तेलको उत्पादन

शुक्रबार ओपेक प्लस देशको बैठकपछि रुसका उर्जामन्त्री अलेक्जेन्डर नोवाकले भने, 'जहाँसम्म उत्पादनमा कटौतीको कुरा छ। बैठकपछि आगामी एक अप्रिलसम्म कुनै पनि देशले तेल उत्पादनमा कटौती गर्न आवश्यक देखिएन चाहे त्यो ओपेकको सदस्य होस् वा नहोस्।'

रुसको यो भनाईलाई तेल निर्यात गर्ने देशहरुले आगामी दिनमा आफ्नो हित आफैँले बुझ्ने र यसका लागि आफैँ जिम्मेवार हुनेतर्फ संकेत गरेको विज्ञहरुको भनाई छ।

रुसी तेल कम्पनी रोजनेफ्टका अनुसार शुक्रबार राखिएको तेल उत्पादन कटौतीको प्रस्ताव ओपेक देशको शक्तिको अनावश्यक प्रदर्शन थियो।

रोजनेफ्टका प्रवक्ता मिखाइल लियोन्तेवले रुसी समाचार एजेन्सीलाई भनेका छन्, 'यो अनावश्यक हो। हामी जति तेल उत्पादन गर्छौं हामी त्यसलाई कम गरौँ र त्यसको आपूर्ति हाम्रा प्रतिस्पर्धीले गरुन। यो तो अरु केही नभई शक्तिको आडमा आफ्नो फाइदाका लागि अरुलाई मनाउनु जस्तो भयो।'

शुक्रबारको वार्ता असफल भएपछि केही विज्ञहरुले भनेका छन्, 'रुसले उत्पादनमा कटौती गर्नुको सट्टा तेलको भाउ कम गर्नेमा काम गरोस् ताकि अमेरिकी तेल उत्पादकहरुलाई कमजोर पार्न सकियोस्।'

अमेरिकी कम्पनीहरुका लागि तेलको उत्पादन लागत धेरै पर्छ। यदि भाउ यसरी नै घट्दै जाने हो भने अमेरिकीहरुको लागि पनि समस्या बढ्नेछ।

डिस्काउन्ट अफर

https://bizmandu.com/assets/upload/images/rus3.jpg

साउदी अरब पनि रुसी तेल कम्पनीहरुलाई निशाना बनाइरहेको छ। तर विज्ञहरुका अनुसार उनको नयाँ नीतिले रुसविरुद्ध तेलको मूल्यको लडाइको ढोका खोल्दैछ। फाइनान्सियल टाइम्सका अनुसार साउदी अरबले उत्तर-पश्चिमी यूरोपका खरिदकर्ता देशहरुलाई आठ डलर प्रति ब्यारेलभन्दा धेरै छुट दिने अफर गरेको छ।

उत्तर पश्चिमी यूरोपका यी देशहरु अहिलेसम्म रुसका ग्राहक हुन्। साउदी अरबले एशियाका लागि चार देखि ६ डलर तथा अमेरिकी बजारका लागि सात डलरसम्म प्रति ब्यारेलमा छुट दिन अफर गरेको छ।

साउदी तेल कम्पनी आरामकोका उपाध्यक्ष रहिसकेका सादाद अल हुसैनीले न्यूयोर्क टाइम्ससँग भने, 'तेलको मागमा आएको कमी तथा झरिरहेको शेयर बजारलाई मध्यनजर गर्दै एकदम कम दाममा तेल बेच्ने अफर गरेर साउदी अरबले आफ्नो कारोबारको बचाउने कोसिस गरिरहेको छ।'

सादाद अल हुसैनीका अनुसार यस्तो अवस्थाबाट साउदी अरब र रुस दुबै देश बाध्य भएर माथि उठ्न कर लाग्नेछ। जबकी अन्य तेल उत्पादक देशहरु जसको उत्पादन लागत एकदमै धेरै छ या उनीहरु राजनीतिक रुपमा अस्थिर छन् ति देशहरुले पनि वित्तीय संकट झेल्नुपर्ने देखिन्छ।

साउदीलाई धेरै नोक्सान

रुससँग यतिबेला १७०,००० मिलियन डलरको फण्ड छ जुन हालैका वर्षहरुमा उसले तेलबाट कमाएको मुनाफा हो। तेलको भाउको लडाई रहिरह्यो भने रुसले यसै फण्डका कारण पनि आफ्नो अवस्था सम्हाल्न सक्छ। तर अन्य तेल उत्पादक देशहरुमा भने यसको असर पक्कै पर्नेछ।

रुस र साउदी अरब पनि यसबाट अछुतो भने रहने छैनन्। यसअघि जब साउदी अरब र ओपेकका अन्य साथी देशहरुले अमेरिकी तेल कम्पनीहरुको अवस्था खराब बनाउनका लागि सस्तोमा तेल बेच्न थालेको थियो त्यसबेला कच्चा तेलको भाउ ३० डलर प्रति ब्यारेलभन्दा पनि तल पुगको थियो।

मूल्यको यो लडाईँमा अहिले पनि साउदी अरबलाई नै धेरै नोक्सान हुने देखिन्छ। सोमरबार शेयर बजार खुल्दा आरामको कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतको गिरावट देखिएको थियो । यस्तै साउदी अरबको आफ्नो शेयर बजार सोमबार ८ प्रतिशत भन्दा धेरैले घटेको थियो।

यदि अवस्था यस्तै रहिरहने हो भने साउदी अरबको अर्थ व्यवस्थाको आधुनिकीकरणको योजना समेत प्रभावित हुन सक्छ। मोहम्मद विन सलमानको धेरै जसो योजनाहरुको लागि आरामको कम्पनीको शेयर बिक्रीबाटै पैसा जम्मा भैरहेको सन्दर्भमा यो प्रभावित हुन सक्ने देखिन्छ। यसका साथै अन्य तेल उत्पादक देशहरुको पनि धेरै कुरा गुम्न सक्ने देखिन्छ।

भेनेजुयलाको अवस्था

https://bizmandu.com/assets/upload/images/rus2.jpg

बेकर इन्स्टिच्यूट अफ राइस युनिभर्सिटीमा उर्जा रणनीतिमाथि अनुसन्धान गरिरहेका फ्रान्सिस्को मोनाल्डी भन्छन्, 'आरामकोले पछिल्ला दुई दशकमा सबैभन्दा धेरै तेल उत्पादनमा कटौती गर्‍यो। यदि रुस र साउदी अरबबीच यसरी नै लडाईँ जारी रह्यो भने तेलको ज्यादा आपूर्ति र कोरोना संकटका कारण तेलको भाउ निकै तलसम्म झर्न सक्छ।'

विज्ञहरुका अनुसार नयाँ अवस्थामा भेनेजुयलाको निकोलस मादुरो सरकारलाई सबैभन्दा धेरै नोक्सान हुनेछ। फ्रान्सिस्को मोनाल्डी भन्छन्, 'भेनेजुयलाका लागि एकातिर तेलको भाउमा आउने गिरावट छ भने अर्कोतर्फ प्रतिबन्धबाट पनि अवस्था नाजुक हुने देखिन्छ।'

अमेरकी प्रतिबन्धको मार खेपिरहेको अर्को देश इरानको अर्थ व्यवस्था पनि धेरै हदसम्म तेलबाट हुने कमाइमा निर्भर गर्छ। तेलको मूल्यको यो लडाईँको मूल्य उसले पनि चुकाउनुपर्ने देखिन्छ। मूल्यको लडाईँ लामो समयसम्म रहने देखिएकाले ब्राजिल, अंगोला तथा नाइजेरियामा पनि प्रभावित हुने छन्।

धेरै अमेरिकी कम्पनीहरु पहिलेदेखि नै ऋणमा डुबेका छन्। त्यसमध्ये केहीले त हालैका वर्षमा आफ्नो बिजनेस नै बन्द गरिसकेका छन् भने केहीले कामदार कटौती गरिरहेका छन्। साउदी र रुस दुबैको निशानामा रहेको अमेरिकी तेल कम्पनीहरु पनि मूल्यको यो लडाईँको नोक्सानी भोग्नु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell