PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

चीनमा कोरोनाको प्रभाव कम हुन थालेसँगै ‘होल्ड’ भएका मालसामान आउन थाले वीरगंज



राधेश्याम पटेल

चीनमा कोरोनाको प्रभाव कम हुन थालेसँगै ‘होल्ड’ भएका मालसामान आउन थाले वीरगंज

वीरगंज : कोरोना भाइरसको प्रकोपका कारण भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाहमा रोकिएका अरबौँ रुपैयाँका मालसामान वीरगंज आउन थालेका छन्। चीनमा कोरोनाको प्रकोप घट्न थालेको र त्यहाँका उद्योग कलकारखाना तथा व्यावसायिक फर्म खुल्न थालेपछि विस्तारै ‘होल्ड’ भएर बसेका हजारौँ कन्टेनर वीरगंज आउन थालेको वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार चिनियाँ निर्यातकर्ताहरुको कार्यालय तथा कारखाना दुई महिना बन्द भएपछि आवश्यक कागजात तथा बिलको अभावमा कन्टेनर दुई महिनादेखि विशाखापट्टनममा होल्ड भएर बसेका थिए।

‘चीनको ३/४ वटा पोर्टबाट पानीजहाजमा लोड गरी कन्टेनर विशाखापट्टनम आउँछ’, उनले भने, ‘त्यसपछि बिलिङको आवश्यक कागजातको काम सकेर रेलमा लोड भएर कन्टेनरको समान वीरगंज आउने हो, त्यही सिपिङलाइनको बिलिङमा आवश्यक पर्ने कागजातको अभावमा समान होल्ड भएका थिए।’

अहिले प्रतिदिन करिब ९० वटा कन्टेनर बोकेको ३ वटा रेल विशाखापट्टनमबाट आइरहेको उनले जानकारी गराए। चिनबाट फलामजन्य उद्योगको कच्चा पदार्थ, सवारी साधन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, ट्रेडिङ, श्रृगारका समानहरुको उच्च आयात हुने गर्दछ।

यसैबीच श्रीसिया सुक्खा बन्दरगाहले पछिल्लो ८ महिनामा लक्ष्यको ९२ दशमलव ५ प्रतिशत राजस्व असुली गरेको छ। भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन सम्मको लागि पाएको २८ अर्ब ११ करोड राजश्व लक्ष्यमध्ये फागुन सम्ममा २६ अर्ब ३ करोड राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए।

आठ महिनामा लक्ष्य भन्दा २ अर्ब ८ करोड कम राजस्व असुली भएको हो। अन्तशुल्क तथा नयाँ भन्सार दरबन्दीका अनुसार विलासी गाडीको आयात घटेसँगै सुक्खा बन्दरगाहको राजस्व प्रभावित हुँदै आठ महिनामा २ अर्ब ८ करोड राजस्व कम उठेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell