PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

आज भोलिमै उपत्यकाका पाँच स्थानमा सुपथ मुल्य पसल खोल्दै छौँ : अपूर्तिमन्त्री भट्ट



पहिलोपोस्ट

आज भोलिमै उपत्यकाका पाँच स्थानमा सुपथ मुल्य पसल खोल्दै छौँ : अपूर्तिमन्त्री भट्ट

काठमाडौं : सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मुल्य पसल खोल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज भोलिमा नै उपत्यकामा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइने बताएका हुन्।

सरकारका निर्णयबारे जानकारी दिन सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले अहिलेको समयमा मिडियाको भूमिका सबैभन्दा बढी रहेको भन्दै सरकारका कमी कमजोरी बारे जानकारी गराउन समेत आग्रह गरे। मिडियाले जनतालाई प्रशिक्षित गराउनु पर्ने उनले बताए।

बजारमा अलि बढि नै अभाव भयो भन्ने सुनिए पनि विस्तारै अभाव कम हुँदै गएको उनले बताए। मन्त्री भट्टले ४ देखि ६ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको जानकारी दिए। उनले बजारमा ८ महिना पुग्ने औषधि भएको पनि दावी गरे।

यसैगरी उद्योगलाई आवश्यक कच्चा पदार्थ ४ देखि ६ महिनालाई पुग्ने मौज्दात भएको पनि उनको दावी छ। साल्ट ट्रेडिङसँग १० महिनालाई पुग्ने नुन र ३ महिना पुग्ने चिनी रहेको बताइएको छ। यस्तै क्रसिङ भएको चिनी पनि पर्याप्त रहेको उनले बताए। थप चिनी आयात गर्न प्रक्रिया अघि बढेकाले नआत्तिन उनले आग्रह गरेका छन्।

‘चारदेखि छ महिना खाद्यान्नको अभाव हुँदैन,’ उनले भने।

मन्त्री भट्टले हाल पेट्रोल, डिजेल र मट्टितेलमा कुनै समस्या नभएको बताए। उनले ग्यास उद्योगीले व्यवसाय व्यवस्थित नगरे मन्त्रालयले कदम चाल्ने बताए।

उनले भने, ‘एक दुई ठाउँमा डिजेल पेट्रोल भर्न लाइन देखिएको छ। ३५ हजार मेट्रिक टन ग्यास पनि आयात भइसकेको छ। यो अवस्थामा २० देखि ३० लाख सिलिन्डर भर्न सकिन्छ।’

भट्टले विकल्पको रुपमा बिजुलीको प्रयोग गर्न र त्यसबाट खाना पकाउन पनि उपभोक्तालाई अपिल गरे।

उनले माक्स र स्यानिटाइजरको कमै मात्र आपूर्ति भएर माग बढेकाले केहि अभाव सिर्जना भएको जानकारी दिए।

जनतामा सचेतना नहुँदा खाद्यान्न तथा पेट्रोल पदार्थलगायतका वस्तुहरुको सञ्चिति गर्ने कार्य बढेको उनले बताए।

‘ट्यांकी फुल गरेर घरमा खन्याएको पनि मैले देखेँ, अब जनताको घरमा छापा मार्न सकिन्न, सचेत गर्ने हो। जिल्ला प्रशासनले पनि यसमा अनुगमन गर्ने छ,’ उनले भने।

उनले ग्यास व्यापारीलाई हालसम्म ५६ लाख जरिबाना भइसकेको भन्दै कालोबजारी गर्नेलाई कैद गर्ने बारे पनि सोचिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell