काठमाडौँः सर्लाही, धनुषा, लमजुङ, तनहुँ र काभ्रेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाहीको कविलासी नगरपालिका ३ हतसरी चोकस्थित सडकमा ना ४ त ४८७ नम्बरको ट्याक्टर र बीआर ३० एक्स ३९९५ नम्बरको मोटरसाइकल शनिबार बिहान एकापसमा ठक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका-७ दुसादका गोविन्द पासवानको मृत्यु भएको हो।
यस्तै धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरस्थितमा ज १ त ३०१९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा भारत सितामढी घर भएका भोला नायकका चार वर्षीय छोरा आयुशकुमार साहको मृत्यु भएको हो।
प्रहरीका अनुसार लमजुङ दोर्दी गाउँपालिका ४ नौथरस्थित सडकमा ग १ त ५७७८ नम्बरको ट्याक्टर दुर्घटनामा सोही गाउँपालिका ३ का युवराज तामाङको मृत्यु भएको छ। तामाङको उपचारका क्रममा सामुदयिक अस्पताल बेशीसहरमा मृत्यु भएको हो।
तनहुँको ब्यास नगरपालिका १२ घाँसिकुवामा ग १ ख ९४०० नम्बरको बस आइबार बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार शुक्लागण्डकी नगरपालिका २ का शर्मिला ठकुरीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य १७ जनालाई उपचारको लागि जिल्ला अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ।
यस्तै काभ्रेको बनेपा नगरपालिका १३ भैसेपाटीस्थितमा बा ५ ख २३९० नम्बरको मिनिट्रक र बा ५७ प ७२८ नम्बरको मोटरसाइकल आइतबार बिहान एकआपसमा ठक्किँदा मोटरसाइकल चालक उदयपुर रौतमाई गाउँपालिका ४ का मीनबहादुर श्रेष्ठ र उनको ५ वर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। दुबै सवारीसाधन र ट्रक चालक रामेछाप खाँडादेबी गाउँपालिका ७ का लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।