अष्ट्रेलियामा भएको भिषण आगलागी, भूकम्प, नयाँ विश्वयुद्धको खतरा र कोरोना भाइरसको प्रकोप – यस्ता विपत्तिबाट सुरु भएको वर्ष २०२० सुरुवात सबैलाई जस्तै फिल्म उद्योगका लागि पनि अप्ठ्यारो बन्यो।
फिल्मको ठूलो बजार भएको भारतमा पनि बक्सअफिस कलेक्सन अघिल्ला वर्षहरुमा जस्तो रहेन। प्रत्यक्ष असर पर्यो हलिउडको अन्तर्राष्ट्रिय बक्सअफिसमा पनि। किनकि हलिउडले सन् २०२० को सुरुवाती तीन महिनामा भारतबाट ५० करोड भारतीय रुपैयाँ मात्र आमदानी गर्यो।
फिल्महरु '१९१७' र 'डोलिटेलले' मात्र सर्वाधिक दश/दश करोड कमाएका हुन्।
जबकी सन् २०१९ को सुरुवातमा मा फिल्म 'क्याप्टेन मार्भल' र 'हाउ टु ट्रेन योर ड्रागन : द हिडन वर्ल्ड'ले क्रमश: ८५ करोड र १२ करोड कमाएका थिए।
त्यस्तै सन् २०१८ को प्रथम त्रैमासिकमा पनि हलिउडले राम्रो प्रदर्शन गरेको थिएन। लोगन, ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केजजस्ता फिल्ममार्फत् ७५ करोड भारतीय रुपैयाँ कमाएको थियो। भलै उक्त रकम यस वर्षको प्रथम त्रैमासिकको तुलनामा कम होइन।
२०१७ को सुरुवाती तीन महिनामा भने हलिउड फिल्महरुले पछिल्लो समयको सर्वाधिक धेरै कलेक्सन गरे। भारतबाट हलिउडले १३५ करोड संकलन गरेको थियो।
सन् २०२० को जनवरी र फेब्रुअरीमा कोरोना संक्रमणको त्रास फैलिसकेको थिएन। हलमा दर्शक फ्लो ठीकै थियो। तर पनि किन भारतीय बक्सअफिसमा हलिउडले राम्रो प्रदर्शन गर्न सकेन त?
ट्रेड विश्लेषक गिरिश जौहर भन्छन्,'ठूला बजेटको फिल्म नआउनु र दर्शकलाई आकर्षित गर्न नसक्नु नै प्रमुख कारण हो। फास्ट एण्ड फ्युरियस ९ जस्ता प्रतीक्षित फिल्म पछि धकेलिनुले पनि असर गर्यो।'
प्रतीक्षिक फिल्म सार्वजनिक नहुनु र कोरोना भाइरसको त्रासलाई नै उनले कारक मानेका छन्।
उनले कोरोनाका कारण प्रदर्शन मिति पछि धकेलिएका फिल्महरु प्रति भने आशा व्यक्त गरे। अवस्था साम्य भएपछि सरकारले हल पुन: सञ्चालनको अनुमति दिने र बलिउड उद्योग जुर्मुराउने तर्क राख्छन् उनी। बलिउड हंगामासँग भनेका छन्,'हलहरु खुलेपछि दर्शक सीधैं हलसम्म पुग्न डराउँलान्, भिडका कारण। तर बिस्तारै सबैकुरा ठी हुँदै जान्छ।'