काठमाडौँः संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ) ले सीमामा अलपत्र रहेका नागरिकलाई सुरक्षित रुपमा नेपाल फर्कने प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। एक विज्ञप्ति प्रकाशित गर्दै मञ्चले सीमामा अलपत्र नागरिकको आधारभूत मौलिक हक संरक्षणको पनि माग गरेको छ।
न्यूनतम आधारभूत स्वास्थ्यको प्रबन्ध गरेर नागरिकलाई स्वदेश फर्काउन मञ्चले माग गरेको हो।
मञ्चले स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने नागरिकको हक रक्षाको अपिल गरेको हो। संविधानले प्रबन्ध गरेको देश निकालाविरुद्धको हकमो सम्मान गर्न पनि मञ्चले सरकारको ध्यानाकर्षण गरेको छ।
मञ्चले संविधानको धारा ४५ ले प्रत्याभूत गरेको देश निकालाविरुद्धको हक तथा नागरिक तथा राजनीतिक अधिकार अभिसन्धि १९६६ को व्यवस्था पालना गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
तीनै तहको सरकारको समन्वयमा सीमामा रहेका नागरिकलाई खाद्य प्रबन्धसहित क्वारेन्टाइनको व्यवस्था गर्न पनि मञ्चले माग गरेको छ। मञ्चले वृहत्तर सार्वजनिक हितका लागि सरकारले अघि सारेका कदमको पालना गर्न सबैलाई अपिल पनि गरेको छ।