PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कोरोना भाइरस संक्रमितलाई लिन जान लाग्दा एम्बुलेन्सका चालक भागेपछि...



रासस

कोरोना भाइरस संक्रमितलाई लिन जान लाग्दा एम्बुलेन्सका चालक भागेपछि...
प्रतीकात्मक तस्विर (फाइल)।

गलकोट : बिहीवार साँझ नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए।

साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेपछि जिल्ला स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालको स्वास्थ्यकर्मी घरमै क्वारेन्टाइनमा बस्दै आएकी ती वृद्धालाई अस्पताल ल्याउने तयारीमा जुट्यो। जिल्ला विपद् व्यवस्थापन समितिको चैत १६ गते भएको निर्णयानुसार नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको एम्बुलेन्स कोरोनाका भाइरसका बिरामी बोक्नका लागि तयारी अवस्थामा राखिएको थियो।

कोरोना संक्रमित ती वृद्धाको घर बागलुङ बजार नजिकै भएका कारण अस्पताल ल्याउनमा कुनै समस्या थिएन। तयारी अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सलाई धौलागिरी अञ्चल अस्पतालमा बोलाइयो। स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौं र धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बि पोख्रेलको नेतृत्वले कोरोना भाइरसबाट संक्रमित बिरामी ल्याउन जानुपर्ने बताएपछि एम्बुलेन्स चालकले रेडक्रसले नियुक्ति पत्र नदिएको भन्दै आनाकानी गर्न थाले।

अस्पताल तथा स्वास्थ्य कार्यालयले यस्तो संकटको घडीमा सुरक्षा सामग्री लगाएर संक्रमित बिरामी अस्पताल ल्याउनुपर्ने भनेपनि चालकले आलटाल गर्दै एम्बुलेन्स छोडेर भागेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए।

‘हामीले तयारी अवस्थामा राखेको एम्बुलेन्स चालकलाई सुरक्षित तरिकाले संक्रमित ल्याउन आग्रह गर्‍यौं’, उनले भने, ‘हामीले अन्य तयारी गरिरहेको समयमा चालकले एम्बुलेन्स छोडेर फरार भयो।’

एम्बुलेन्स छोडेर चालक भागेपछि स्वास्थ्य कार्यालयको चालक र प्रमुख गुरौंले सोही एम्बुलेन्समा राखेर संक्रमित ती वृद्धालाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा पोखरेलले जानकारी दिए। चालकको गैरजिम्मेवारीपनका कारण बिरामीलाई अस्पताल ल्याउन दुई घण्टा ढिलो समेत भएको थियो। प्रमुख गुरौंका अनुसार एम्बुलेन्स चालकलाई सुरक्षित राख्नका लागि एम्बुलेन्सलाई दुई भागमा विभाजन गरेको र पिपिई लगाएर मात्र बिरामी ल्याउन आग्रह गर्दा पनि एम्बुलेन्स अस्पतालमै छोडेर चालक भागेका थिए।

एम्बुलेन्स चालकले असुरक्षा तथा नियुक्तिपत्र नभएको भन्दै भागेपछि पिपिई लगाएर संक्रमित बिरामी बोक्न कुनै समस्या नहुने भन्ने सन्देश दिनका लागि आफू र आफ्नो चालक बिरामी लिन संक्रमितको घरमै पुगेको गुरौंको भनाइ छ। चालकले पिपिई लगाएर संक्रमित बिरामी बोक्न कुनै समस्या नहुने डा पोखरेलको भनाइ छ।

‘अस्पतालमा निकै कम जनशक्तिमा पनि रातदिन उपचारमा खटिएका छौं’, उनले भने, ‘सुरक्षा सामग्री लगाएर बिरामी बोक्दा चालकलाई केही हुँदैन।’

धौलागिरी अञ्चल अस्पतालमा ती वृद्धासहित कोरोना भाइरसबाट संक्रमित दुई जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ। एम्बुलेन्स चालक बिरामी भएका कारण अर्को चालकलाई अस्थायी रुपमा काममा लगाइएकाले बिरामी बोक्न अस्वीकार गरेको हुन सक्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले जानकारी दिए। लामिछानेले आफूले चालकलाई सुरक्षा सामग्री तथा तालीमको व्यवस्था गर्न आग्रह गरेपनि सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाए।

संकटको घडीमा चालकले सुरक्षा सामग्रीसहित एम्बुलेन्स सञ्चालन नगरी भाग्दा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स थन्किने अवस्थामा पुगेको छ। तयारी अवस्थाको एम्बुलेन्स थन्किदा अन्य कोरोना भाइरसका संक्रमित फेला परेमा अस्पताल ल्याउन झनै समस्या हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell