काठमाडौं: कोरोना भाइरसको महामारीमा मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य संयोजक र नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघका पदाधिकारी सदस्य रहनेगरी उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको हो।
समितिले कोभिड १९ विरुद्ध लड्न सरकारी कदमहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्यलगायतका विषयहरुको अनुगमन गरी आवश्यक सुझाव दिनेछ।
समितिमा मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्याल (संयोजक), आयोगका सचिव वेद भट्टराई, बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौड्याल, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामा, महासचिव रामप्रसाद सुवेदी र आयोगका निर्देशक डा टिकाराम पोखरेल रहेका छन्।
समितिले अनुगमनलाई प्रदेश र जिल्लास्तरमा पनि थप प्रभावकारी बनाउन प्रदेश र जिल्ला स्तरीय अनुगमन समिति गठन गर्ने निर्णय गरेको मानव अधिकार आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिएका छन्।