PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोभिड-१९ विरुद्ध यसरी लड्दैँछ हरिवन नगरपालिका: स्वास्थ्यकर्मीलाई पीपीई, नगरवासीलाई राहत, डिस्इन्फेक्सन् औषधि छर्किँदै



पहिलोपोस्ट

कोभिड-१९ विरुद्ध यसरी लड्दैँछ हरिवन नगरपालिका: स्वास्थ्यकर्मीलाई पीपीई, नगरवासीलाई राहत, डिस्इन्फेक्सन् औषधि छर्किँदै
तस्विर सौजन्य: युवराज आचार्य

कोरोना भाइरस महामारीविरुद्धको लडाईंमा अहिले स्थानीय तहका जनप्रतिनिधि अग्रपंक्तिमा छन्, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीजस्तै। नेपाली कांग्रेसका नेता गगन थापाले त स्थानीय जनप्रतिनिधिको सहयोगविना कोरोनाविरुद्धको लडाई सफल नहुने बताएका छन्। सबैभन्दा बढी जिम्मेवारी स्थानीय जनप्रतिनिधिमा रहेको भन्दै तथ्यांक संकलनमा गगनले जोड दिएका छन्। सरकारले पनि जनप्रतिनिधिको योगदानलाई प्रशंसा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा जनप्रतिनिधिलाई धन्यवाद दिएका थिए। राज्य नेतृत्वले नै जिम्मेवार मानेको स्थानीय तहका जनप्रतिनिधि स्रोतसाधनले भ्याएसम्म कोभिड १९ विरुद्ध लडिरहेका छन्। यसैसन्दर्भमा सर्लाहीको हरिवन नगरपालिकाले गरेको प्रयासहरु यहाँ प्रस्तुत गरिएको छ।

गणेश प्रसाई - मेयर, हरिवन नगरपालिका

विश्व कोभिड-१९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नेपाल सरकारले पहिलो चरणमा अपनाएको सुरक्षा सतर्कताको समयदेखि नै त्यसको कार्यान्वयन पक्ष र संक्रमणबाट बच्न अपनाउनुपर्ने सतर्कताको बारेमा नगरवासीलाई सचेत गराउन हामी गाउँ गाउँमा छौं।

जनताहरुको आधारभूत स्वास्थ्यको ग्यारेन्टी गर्नु र संक्रमण बाट बचाउनु पहिलो जिम्मेवारी हामी माथि छ। बिरामीको प्रत्यक्ष सम्पर्कमा रहने र उपचारमा संलग्न रहने स्वास्थ्यकर्मीहरु नै असुरक्षित महसुस गरिरहेका र त्यहीँ अनुरुप विश्व बजारमा अभाव रहेको र नेपालमा त झन उपलब्ध नै नरहेको अवस्थामा पनि हामीले विभिन्न माध्यमबाट केहीँ मात्रमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) खरिद गरेर नगरभित्र स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण गरेका छौं।

त्यसैगरि गाउँगाउमा सुरक्षा गस्ती बढाएर म आफैं गाउँगाउँमा पसेर नागरिकलाई उच्च सुरक्षा रणनीति अपनाउन आग्रह गरिरहेको छु।

कोभिड १९ को पूर्व तयारी अनुरुप शंकास्पद व्यक्तिहरूलाई राख्नका लागि ३५ बेडको क्वारेन्टाइन तयार गरिएको छ। जहाँ आवश्यक पर्दा २४ सै घण्टा स्वास्थ्य सेवा तथा परामर्श प्रदान गर्न सक्ने गरि एमबीबीएस डाक्टरसमेत उपलब्ध गराइएको छ।

लकडाउनको समयमा बजारमा हुन सक्ने कालो बजारी सम्भावित कृत्रिम अभाव र जम्माखोरीलाई ध्यानमा राखेर बजारमा स्थानीय सुरक्षा निकायका प्रतिनिधि र नगरपालिकाको कर्मचारी सहित ४ जना रहने गरि उपभोक्तालाई कुनै समस्या नपरोस् भनेर सहयोगको लागि सहायता कक्ष समेत संचालन गरिएको छ।

नगरको स्वास्थ्य अवस्था बुझन र नगरवासीको स्वास्थ्य जाँचको लागि स्वास्थ्यकर्मीहरु, सुरक्षा निकायका प्रमुखहरु सहित आफैं स्वयं जनताको स्वास्थ्य परीक्षणको लागि गाउँगाउँमा गएर परीक्षण सुरु गरिएको छ।

कोहीँ व्यक्ति बाहिरबाट आएको भए तिनीहरुको स्वास्थ्य जाँच गराई आवश्यक सतर्कता अपनाएर घरमै सुरक्षित रुपमा भिन्दै बस्ने व्यवस्था मिलाइएको छ, सुरक्षित बस्न र कोहीँ व्यक्तिसंग पनि सम्पर्कमा नरहन आग्रह गरिएको छ। नगरभित्र बाहिरबाट आउने व्यक्तिहरूको पूर्ण रुपमा विवरण राखिएको छ र निरन्तर स्वास्थ्य निगरानीमा राखिएको छ।

नगरभित्र उच्च सुरक्षा सतर्कता अपनाउँदै यस संक्रमणबाट केहीँ हदसम्म बच्न र गर्मियाममा पैदा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यसबाट बच्न प्रदेशमै पहिलोपटक नगर क्षेत्रभित्रका सम्पूर्ण वडा, बजार, गाउँ र घरघरमा नगर प्रमुख स्वयंको सक्रियता र उपस्थितिमा थप संक्रमणबाट जोगिन किटाणु नष्ट गर्ने क्लोरिन हाइड्रो अक्साइड सहितको डिसइन्फेक्सन औषधि छर्किइएको छ। जसले गर्मी मौसममा हुन सक्ने थप संक्रमणबाट बच्न र बचाउन मद्दत गर्ने विश्वास गरिएको छ।

हरिवनभित्र लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने, जीवन संचालनको अरु कुनै विकल्प नभएका वास्तवमा गरिखाने वर्गका परिवारलाई राहत वितरणको लागि हरिवन नगरपालिकाले एउटा छुट्टै 'प्रकोप व्यवस्थापन विकास कोष' खडा गरेको छ। कोषमा मैले आफ्नो व्यक्तिगत ५० हजार जम्मा गरेको छु। उपप्रमुख रेणुका पौडेलले पनि ५० हजार, जनप्रतिनिधिहरुले पहिले प्राप्त गरेको एक महिना बराबरको सेवा सुबिधा र नगरपालिकाभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरुले एक दिन बराबरको तलब कोषमा योगदान गरेका छन्।

सहयोग रकम धमाधम जुटिरहेको छ। हालसम्म ३४ लाख सहयोग रकम जुटिसकेको छ। राहत प्रदान गर्नुपर्ने खालका नगरभित्र ४५०० घरधुरी रहेको छ। यही कोषबाट नगरपालिकाले राहत वितरण गर्न नगरभित्र राहत वितरण गर्नुपर्ने स्थितिका परिवारको विवरण संकलन सम्पन्न गरेर प्रत्येक परिवारलाई खाद्यान्नसहितको २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ केजी तेल, ३ केजी आलु, र साबुनसहित गरेर राहत वितरण गरेको छ।

हामीले अध्यनको लागि बाहिरबाट आएर हरिवनभित्र कोठा भाडामा बस्ने बिद्यार्थीलाई राहत वितरण गर्ने त्यसको लागी सम्पर्कमा आउन पनि अपिल गरेका छौं।

जनताहरुको दु:खसुखमा संगै रहने र प्रत्यक्ष सम्पर्कमा रहने भएकाले नगरपालिकालाई स्थानीय सरकार भन्ने गरेको र त्यसको अनुभूति जनताले गर्नेगरि हामीले काम गरिरहेका छौं। लकडाउनको कारण कोही पनि नागरिकलाई भोकै मर्न दिनेछैनौं।

वास्तवमा लकडाउन हाम्रा लागि चुनौती सँगै आफूलाई पुष्टि गर्ने अवसरका रुपमा आएको बुझेका छौं।

(नगरप्रमुख प्रसाईंसँग गरिएको कुराकानीमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell