PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कोरोना जितेकालाई भाइरसले शरीरमा पारेको क्षतिले जीवनभर सताउने देखिन्छ : अध्ययन



पहिलोपोस्ट

कोरोना जितेकालाई भाइरसले शरीरमा पारेको क्षतिले जीवनभर सताउने देखिन्छ : अध्ययन
File Photo: Reuters

पछिल्लो पटक कोरोना भाइरस (कोभिड-१९)ले संसारलाई थिलथिलो बनाएको छ। यस महामारीका कारण आर्थिक क्षतिको आँकलन भइसकेको छैन। मानवीय क्षति जारी छ। मृत्यु हुनेको संख्या विश्वभर एक लाख नाघिसकेको छ।

कोभिड-१९ संक्रमणमा परी उपचारपछि घर फर्कनेहरु पनि छन्। तीन लाख ८८ हजारभन्दा माथि कोरोना संक्रमितहरु उपचारपछि घर फर्किसकेका छन्।

घातक मानिएको कोभिड-१९ ले कोरोना जितेकाहरुको जीवनमा के पछिसम्म असर पार्ला? यसबारे एक अध्ययन भएको छ। अध्ययनले कोरोना भाइरसको संक्रमणमा परेकाहरुलाई जीवनकाल भर क्षति हुने देखाएको छ।

कोरोना भाइरस श्वासप्रश्वाससँग सम्बन्धित भएकाले यसको बढी प्रभाव फोक्सोमा हुन्छ। वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको सामान्य लक्षण (सुक्का खोकी र ज्वरो) देखिएकाहरु पूर्ण रुपमा निको हुन्छन् र उनीहरुको फोक्सोमा यसले कुनै दीर्घकालिन असर गर्दैन। तर, मध्यम तथा गम्भीर लक्षण (श्वास फेर्न गाह्रो हुने र न्युमोनिया) देखिनेहरुमा भने यसको दीर्घकालिन असर देखिन सक्छ

श्वासप्रश्वास प्रणाली हुँदै कोरोना भाइरस शरीरभित्र पस्छ। त्यसपछि यसले अन्य कोरोना भाइरस (जस्तै सार्स) जसरी नै काम गर्न थाल्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसले फोक्सोमा तीन तहमा आक्रमण गर्छ : भाइरल रेप्लिकेसन, इम्युन हाइपर रियाक्टिभिटी र पल्मोनरी डिस्ट्रक्सन।

यसलाई बुझिने भाषामा भन्दा श्वासप्रश्वास प्रणाली हुँदै कोरोना भाइरस शरीरभित्र पसेसँगै यसले त्यहाँ रहेका कोषहरुलाई आक्रमण गरी आफ्नो कपि बनाउँछन्। भाइरसमा प्रजनन् क्षमता नहुँने भएकाले यसले अन्य जीवित कोषहरुलाई आक्रमण गरी आफ्नो वृद्धि गर्छ। त्यसपछि भाइरस श्वासनली हुँदै फोक्सोसम्म पुग्छ, जुन केही बिरामीहरुका लागि अति घातक सावित हुन सक्छ।

सो अवस्थामा कोभिड-१९ ले प्रतिरक्षामा असर गरी चेन रियाक्सन शुरु गर्छ, जसकारण फोक्सोमा जलन बढ्नुका साथै तरल पदार्थ जम्मा हुन थाल्छ। यसले करिब १४ प्रतिशत संक्रमितलाई असर गरेको पाइएको छ। फोक्सोमा तरल पदार्थ जम्मा हुँदा ब्याक्टेरिया तथा भाइरसलाई पनि आकर्षित गर्ने हुँदा त्यसले न्युमोनिया निम्त्याउँछ। जसबाट बिरामीलाई श्वासप्रश्वासको लागि अप्ठ्यारो हुन्छ र भेन्टिलेटरको आवश्यकता पर्छ।

यस क्रममा भाइरस र शरीरको प्रतिरक्षा प्रणालीबीच तीव्र प्रतिकृया हुने हुँदा फोक्सोलाई अझ बढी जोखिम हुन्छ। त्यसले फोक्सोको परिधीमा रहेको ‘एल्भोली’ नामक वायु थैलीहरुमा असर गर्न सक्छ। ‘एल्भोली’ भनेको फोक्सोमा भएको बेलुन जस्तो भाग हो जहाँ हामीले श्वास लिँदा हावा भरिन्छ र सो माध्यमबाट अक्सिजन फोक्सो हुँदै सम्पूर्ण शरीरमा पुग्छ। यसले कार्बन डाइअक्साइडलाई केही हदसम्म छान्न पनि मद्यत गर्छ।

भाइरससँग शरीरको प्रतिरक्षा प्रणालीको तीव्र प्रतिकृया हुँदा ‘एल्भोली’ फुट्न सक्छ, जसबाट फोक्सो कडा हुन गई आफ्नो काम गर्न नसक्ने अवस्थामा पुग्छन्। यस्तो गम्भीर असर देखिएका बिरामीहरु निको भएपनि उनीहरुको लागि श्वासप्रश्वास प्रकृया पहिलेको जस्तो सजिलो हुने छैन।

कोरोना भाइरसले फोक्सोमा मात्रै होइन मिर्गौलामा पनि गम्भीर असर गर्न सक्छ। बिरामीमा संक्रमण बढ्दै जाँदा त्यसले थप संक्रमण निम्त्याउँछ, जसले अंग फेल हुने अवस्था आउँछ। सो अवस्थालाई ‘सेप्सिस’ भनिन्छ। यसको अर्थ एउटा संक्रमणले शरीरका विभिन्न अंगमा असर पर्छ। जुनमध्येको एउटा हो, मिर्गौला।

मिर्गौलाले रगत छान्ने काम गर्न सन्तुलित रक्तचाप हुनुपर्छ। ‘सेप्सिस’ भएको अवस्थामा संक्रमण र दबावका कारण शरीरमा भएका रक्तनलीहरु फैलिन्छन्। जसले रक्तचापलाई घटाउँछ। यसरी अचानक रक्तचाप घट्दा मिर्गौलामा उचित मात्रामा रगत आपूर्ति हुँदैन र सो अवस्थामा मिर्गौलाले आफ्नो काम गर्न सक्दैन। जसको नतिजा स्वरुप मिर्गौलाका अत्यन्त संवेदनशील कोषहरु छिट्टै मर्न थाल्छन्, त्यसले मिर्गौलामा दीर्घकालिन असर निम्त्याउँछ।

यस्तो अवस्थामा कोरोना भाइरसको संक्रमणबाट निको भइसकेपछि पनि बिरामीले रगत तथा पिसाब परीक्षणमार्फत मिर्गौलाको अवस्थाबारे जानकारी लिनुपर्ने हुन्छ।

हालै कोरोनासँग जितेर घर फर्केका अनुसन्धानकर्ताहरुले ३४ जनामा अध्ययन गरिएको थियो

उक्त अनुसन्धानले कोरोना संक्रमणमा परिसकेकाहरुको शरीर सामान्य अवस्थामा फर्कन गाह्रो हुने उल्लेख गरिएको छ।

संक्रमणको रापले क्षति पुगेको अंगहरु सामान्य अवस्थामा आउन निकै समय लाग्न सक्ने अनुसन्धानकर्ताहरुले दावी गरेको लस एन्जलस् टाइम्सको रिपोर्टमा पनि उल्लेख छ

कोभिड-१९ ले धेरै थलिएका बिरामीहरुमा दीर्घ रुपले पार्ने सुस्त प्रभावहरुबारे चिकित्सकहरुले प्रमाण पनि फेला पार्न थालेका छन्।

‘मलाई लाग्छ यसको असर निरन्तर रहला,’ येल युनिभर्सिटीकै कर्डियोलोजिस्ट डा जोसेफ ब्रेनानले भनेका छन्।

उनीहरुको कलेजो, मुटुमा यसले क्षति पुर्‍याउन सक्ने अनुसन्धानकर्ताहरुले दावी गरेका छन्।

चीनमा नोभेम्बरबाट कोभिड-१९ बाट संक्रमणमा परी निको भएका व्यक्तिदेखि अरु देशमा निको भएका व्यक्तिमा गरेको अध्ययनले यस्तो क्षतिको आँकलन गरिएको हो। उक्त अध्ययनले कोरोना संक्रमणमा परेकाको कलेजो र मुटुमा भाइरसले क्षति पुर्‍याएको देखिएको उल्लेख छ।

‘कोभिड-१९ श्वासप्रश्वास समस्यामात्र हैन’, अमेरिकास्थित कनेक्टिकटका डा हर्लन क्रुमहल्ट्जले पत्रिकालाई भनेका छन्, ‘यसले मुटुमा समस्या पार्न सक्छ। कलेजो, मिर्गौला, ब्रेन, हर्मोन प्रणाली र रक्तप्रणालीमा पनि असर पार्दछ।’

संक्रमणपछि हुने शारीरिक पीडा स्ट्रोक र हृदयघातसँग सम्बन्धित रहेको उक्त रिपोर्टमा उल्लेख छ। चार लाख भन्दा धेरै मानिसहरु कोरोना संक्रमणपछि निको भएर घर फर्किसकेका छन्।

कोरोना भाइरस जुन रुपले फैलिएको छ। यसको संक्रमण सकिए पनि वास्तवमा यसको असर भने बाँकी नै रहने देखिएको छ।

यसैले पनि कोरोना जितेका बिरामीबारे अहिले डाक्टरहरु चिन्तित हुन थालेका छन्। उनीहरुको शरीर पूर्ण रुपमा पहिलेकै जस्तो अवस्थामा फर्काउन के गर्न सकिन्छ भनी उनीहरुले चिन्ता थालेको बताइएको छ।

कोरोना भाइरस अझ नयाँ नै छ र वैज्ञानिकहरुले यसको बारेमा हरेक दिन नयाँ कुराहरु पत्ता लगाइरहेका छन्। यसले शरीरमा कतिसम्म हानी गर्छ भन्ने थाहा पाउन अझ केही समय लाग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell