PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

लकडाउनमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको दैनिकीः बिहान थेरापी गर्ने दिउँसो अध्ययन, रोजाइमा सी चिनफिङको कथा र जनताको जनवाद



कुञ्जरमणि भट्टराई

लकडाउनमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको दैनिकीः बिहान थेरापी गर्ने दिउँसो अध्ययन, रोजाइमा सी चिनफिङको कथा र जनताको जनवाद

काठमाडौं :कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि संसद् अधिवेशन अन्त्य गरिएको छ। अधिवेशन अन्त्यअघि पनि चैत पहिलो सातापछि कुनै पनि सदन चलेका थिएनन्। यतिबेला देश लकडाउनमा छ। संसदका पदाधिकारी तथा सांसदहरु फुर्सदिला छन्। 

संसदीय गतिविधि ठप्प भएसँगै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको दैनिकीमा केही फेरबदल आएको छ। दौडधुप छैन। दैनिकी बालुवाटारस्थित सरकारी निवासमै सीमित छ।

लकडाउनपछि अध्यक्ष तिमिल्सिना सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा केही अन्तरालमा पुगिरहेका छन्। पछिल्लोपटक समिति सभापतिहरुसँग भिडियो सम्वाद कार्यकक्षबाटै गरे। अन्य दिनमा हालखबर बुझ्न पनि जाने गरेका छन्।

'कोरोनाभाइरसका कारण नेपालमात्र होइन, विश्व नै प्रभावित छ। संसदीय गतिविधि नभएकाले सिंहदबारस्थित कार्यकक्षमा बेलाबेलामा मात्र जान्छु। भेटघाट गरेर फर्किन्छु,'उनी भन्छन्।

निवासमा पनि सीमित व्यक्तिहरुसँगै मात्र भेटघाट हुने तिमिल्सिनाले सुनाए। धेरै मानिसहरूसँग भेटघाट गर्दा  लकडाउनको उल्लंघन हुने कुरामा सचेत छन्, उनी।

लकडाउनले केही फूर्सद मिलेको छ तिमिल्सिनालाई। फूर्सद्मा के गर्छन् त तिमल्सिना?

तिमल्सिनालाई ढाड, गर्धन, पाखुरा दुख्ने समस्या रहेछ। त्यसैले केही समययता निवासमै थेरापी गर्दै आएका छन्। लकडाउनले यसमा अझ साथ दिएको छ उनलाई।

'घरमै एक घण्टा ढाड, गर्धन, पाखुराको थेरापी गर्छु।चिया खाजापछि अघिल्लो दिनभरका घटनाबारे अध्ययन गर्छु,'अध्यक्ष तिमिल्सिनाले आफ्नो बिहानी सेड्युलबारे बताए।

अध्यक्ष तिमिल्सिनाको धेरै समय भने अनलाइनका समाचार, आर्टिकल पढेर बित्ने गर्छ। तर, स्तर मेन्टेन नगर्दा अनलाइनहरुको विश्वासनीयता घट्दै गएको उनको बुझाई छ।

'हातमा मोबाइल हुन्छ। धेरै समय अनलाइनका समाचार आर्टिकल हेर्छु। विश्वासनीय अनलाइन पनि छन्। तर, स्तर मेन्टेन नगर्दा विश्वासनीयता पनि घट्न थालेको छ,' अध्यक्ष तिमिल्सिनाले भने, 'केही अनलाइनले गर्दा सबैलाई एउटै क्याटेगोरीमा राख्ने गरेको देखिन्छ।'

त्यसबाहेक उनी अध्ययनमा जोड दिन्छन्। लकडाउनपछि हालसम्म उनले बुद्धि सागरको उपन्यास "कर्णाली ब्लुज" र  चिनियाँ राष्ट्रपतिबारे नेपालीमा अनुवाद गरिएको "सी चिनफिङको कथा"पढिसकेका छन्।

उनले अध्ययन गरेको सी चिनफिङको कथामा भने चिनियाँ राष्ट्रपति सीले विभिन्न समयमा दिएको मन्तव्य, सुनाएका अनुभव समेटिएका छन्।

अहिले भने नेकपाको दस्तावेज "जनताको जनवाद" अध्ययन गरिरहेको अध्यक्षले बताए। आउँदो दिनमा नेकपाका अरु दस्तावेज पढ्ने योजना छ उनको।

'एमाले र माओवादी एक भएपछि बनेको नेकपाको "जनताको जनवाद" पढ्दैछु। यसमा दुई पार्टी एक हुनुअघिको दस्तावेज पनि समेटिएको छ। अझै दस्तावेजहरु भेटिए पढ्छु। केही नयाँ पुस्तक पनि पढ्ने सोचमा छु', तिमल्सिनाले भने।

निवासमै रहे पनि प्रदेशमा स्वास्थ्य सामाग्री नपुगेको गुनासो, समस्या उनीकहाँ आइपुग्छ। ती समस्यामा तिमिल्सिनाले फोनबाट समन्वय गर्दै आएका छन्।

कोरोना संक्रमण हुनसक्ने उच्च जोखिम रहे पनि अन्य मुलुकको तुलनामा नेपालमा अहिलेसम्म १६ जना संक्रमित भेटिएका छन्। तर, कोरोना संक्रमण फैलन रोक्न लकडाउनपछि पनि केही समय सीमा खोल्न नहुने तिमिल्सिनाको सुझाव छ।

भन्छन्, 'लकडाउन खुलेपछि पनि केही समय सीमा खुला गर्नु हुँदैन। सीमा खुला गर्दा अन्यत्रबाट मानिस आउँछन्। यसले संक्रमण फेरि फैलन सक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell