PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

धादिङ र चितवनको सिमानामै रोकिए घर हिँडेका मजदुर



रासस

धादिङ र चितवनको सिमानामै रोकिए घर हिँडेका मजदुर

धादिङ : कोभिड–१९ को महामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन्। कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदुर काम गर्न नपाइने र खानेकुरा सकिएपछि हिँडेर घर जान लागेका थिए।

घर जान लागेका बेला चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेको हो। बिहानैदेखि तीन सयभन्दा बढी मजदुर रोकिएको र उनीहरु खानेकुरा नपाएर दिनभर सो क्षेत्रमा भोकभोकै परेको स्थानीयवासी विनोद शाहले जानाकारी दिए।

मजदुर रोकिएपछि मौवाखोला बजारबासीले प्रहरीलाई हिँडेर घर जान दिनका लागि आग्रह गरेका थिए। बजारबासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि बजारबासी र मजदुर मिलेर प्रहरीसँग झडप गरेका थिए।

घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीच वार्ता भएको छ। वार्तापछि मजदुरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भएको छ।

धादिङका विभिन्न इँटा उद्योग, विद्यालय निर्माण र गाउँमा पुनःनिर्माणका लागि आएका मजदुर घरतर्फ जान लागेका थिए। एक जिल्लाबाट अर्को जिल्ला जानका लागि अतिआवश्यकीय सवारी साधनसमेत रोकिएपछि प्रमुख जिल्ला अधिकारीहरुले वार्ताका माध्यमबाट समस्या समाधान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell