PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

लकडाउनको सदुपयोगः  चिटिक्क पारिदैं 'ट्राफिक आइल्याण्ड'



पहिलोपोस्ट

लकडाउनको सदुपयोगः  चिटिक्क पारिदैं 'ट्राफिक आइल्याण्ड'

काठमाडौः लकडाउनको मौका छोपेर काठमाडौं महानगरपालिकाले ट्राफिक आइल्याण्ड पुनर्निर्माण गरेर चिटिक्क बनाइरहेको छ। केही दिनदेखि हरियाली प्रवर्द्धनका लागि महानगरले आइल्याण्ड मर्मतसम्भार तथा व्यवस्थापनको काम गरिरहेको छ।

लडकडाउनका समयमा सहर बढार्ने, फोहोर संकलन ढुवानी तथा अन्तिम व्यवस्थापन गर्ने, झार उखेल्नेजस्ता नियमित सरसफाइसँगै शहरी सौन्दर्यीकरण र हरियाली बढाएर वातावरणीय सुधारका काम थालेको हो।

सुन्धारामा चारवटा र भोटाहिटीको एउटा आइल्याण्ड पुननिर्माण भइसकेका छन्। दरबारमार्गमा काम थालनी हुने चरणमा छ।

आइल्याण्डको साबिक संरचनामा उचाइ बढाएर साढे २ फिट बनाइएको छ। आकर्षक बनाउन बाहिरी स्वरुपमा परम्परागत इँटा राखिएको छ। संरचनाको भित्री भागमा थप माटो भरेर फूल तथा बिरुवा रोपिएका छन्।

फोहोरमैला तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालका अनुसार, महानगरले बनाएको मापदण्ड स्वीकार गरेर सबै आइल्याण्डलाई एउटै ढाँचामा बनाउने सर्त स्वीकार गर्ने साझेदारसँग सहकार्य निरन्तर हुनेछ। मापदण्ड पुरा नगर्नेको सहमति तोडिने छ। विभिन्न निकायले आइल्याण्ड बनाएर मर्मत सम्भार गर्दै आएका छन्।

बरालका अनुसार सुन्धारा चोकमा भएका चारवटा आइल्याण्ड पुननिर्माणको लागि करिब १० लाख रुपैयाँ खर्च भएको छ। भोटाहिटी र दरबारमार्ग अघिल्तिर दुई ठाउँको करीब ९ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसपछि त्रिपुरेश्वर चोक र अनामनगर हनुमानस्थानबाट अगाडि घट्टेकुलोतर्फ लाग्दाको सडकका दायाँतर्फ भएका आइल्याण्डहरु सुधार सुरु हुनेछ।

पुनर्निर्माण सम्पन्न गरिएका सुन्धाराका चारवटा आइल्याण्डको माथिल्लो भागमा दुबो, ७ सय ५० बोट मौसमी फूल र विभिन्न जातका बिरुवा रोपिएका छन्। यसरी रोपिएका बिरुवाहरु एलिजिया, साइकस पाम, सेप्लेरिया भेरिगेटर, नीलजाई, ड्रेसिना इलिगन, ड्रेसिन भेरिकेटर, फोनिक्स पाम, क्याट्रक पाम, ड्रेसोना जातका हुन्। त्यस्तै क्लोटन, जनादो पाम, बटर प्याराडाइज र रेक्सोना पाम पनि रोपिएका हुन्। भोटाहिटीमा पनि यिनै प्रजातिका फूल र बोटबिरुवा रोपिएका छन्।

महानगर क्षेत्रभित्रका ट्राफिक आइल्याण्डहरु

त्रिपुरेश्वर, सुन्धारा, नयाँसडक गेट सामुन्ने, महाङ्काल मन्दिर अगाडि, वीर अस्पताल अगाडि, भोटाहिटी, जमल आकाशे पुलमुनि, तीनधारा पाठशाला अघि, दरबारमार्गबाट काठमाडौं प्लाजा जाने मुखमा, त्रिचन्द्र क्याम्पस अगाडिलगायत महानगरका बिभिन्न २७ ठाउँमा ट्राफिक आइल्याण्ड छन्।

वातावरण व्यवस्थापन विभागका इञ्जिनियर प्रमिला पराजुलीका अनुसार शंखधर पार्क (रत्नपार्क) बाट बागबजार जाने चोकमा, भद्रकाली, माइतीघर मण्डला, थापाथली, नागपोखरी, कोटेश्वर, तीनकुने चोक, बालाजु चोकमा ट्राफिक आइल्याण्ड छन्। त्यस्तै टङ्केश्वरी मन्दिर छेउ, चित्तधर शालिक आइल्याण्ड कालीमाटी, तीनकुनेको उत्तरतर्फ, एअरपोर्ट गेट, कमलादी, ज्ञानेश्वरबाट कालोपुल जाँदा सानो गौचरण चोक, पुतलीसडकबाट बाँसघारी हुँदै कालिकास्थान जाने चोक, अनामनगर हनुमानस्थानदेखि घट्टेकुलो जाने मुखसम्म छन्।

यी मध्ये केहीको मर्मत सम्भार तथा व्यवस्थापन महानगर आफैंले गरिरहेको छ भने केहीको व्यवस्थापनका लागि निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत निजी क्षेत्रलाई नै दिइएको छ। यसरी दिइएकामा माइतीघर मण्डला कृषि बिकास बैंक, जमल-तीनधारा पाठशाला अघि र शंखधर पार्क (रत्नपार्क) को आइल्याण्ड प्रभु बैंक, त्रिपुरेश्वर चोकको आइल्याण्ड सेञ्चुरी बैंकलाई दिइएको छ। यसैगरी नयाँसडक गेट अघि र प्रदर्शनी मार्ग (राष्ट्रिय सभा गृह अघि) का आइल्याण्डको मर्मत सम्भार र व्यवस्थापनको जिम्मा नबिल बैंक र एरोरुटलाई संयुक्त रुपमा दिइएको छ।

आइल्याण्डबाहेकका अन्य ५ ठाउँका सडक किनारामा हरियाली बढाउने काम पनि निजी क्षेत्रले जिम्मा लिएका छन्। यी ठाउँमध्ये माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन नेपाल टेलिकमले गरिरहेको छ।

चक्रपथ क्षेत्रअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी क्षेत्रमा टोयोटा (युनाइटेड ट्रेडर्स सिन्डिकेट) ले,  काठमाडौं उपत्यका खानेपानी लिमिटेड अघिल्तिरको पर्खाल क्षेत्रमा हुवेई, सर्वोच्च अदालत अघिल्तिर पञ्चकन्या समूह र नेपाल वायु सेवा निगम अघिल्तिरको भागमा नबिल बैंकले हरियाली व्यवस्थापनको काम गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell