PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

वीरगंजका मेयरको घरमा छापा नमारिएको प्रशासनको स्पष्टोक्ति, मेयर सरावगी भन्छन्, ‘मलाई बदनाम गर्ने षड्यन्त्र भयो’



राधेश्याम पटेल

वीरगंजका मेयरको घरमा छापा नमारिएको प्रशासनको स्पष्टोक्ति, मेयर सरावगी भन्छन्, ‘मलाई बदनाम गर्ने षड्यन्त्र भयो’

वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीको घरमा प्रशासनले छापा मारेको खबर अहिले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुमा देखिएको छ। महानगरपालिकाले वितरण गरेको राहतमा गुणस्तरहीन चामल र कम तौलका बोराहरु भेटिएपछि स्थानीय प्रहरी प्रशासनले छानबिन गरिरहेको अवस्थामा यस्तो समाचार आएका हुन्।

तर, पर्साको सुरक्षा निकाय र सरोकारवाला निकायका पदाधिकारीहरुले भने मेयर सरावगीको घरमा छापा नमारेको बताएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रजिअ ललित बस्नेतले नगर प्रमुख सरावगीको घरमा छापा नहानिएको बताए। उनले वीरगंज महानगरपालिका-१४ को पिपरास्थित कार्यालयमा गुणस्तरहीन चामल  महानगरपालिकाले पठाएको घटनामा छानबिन भने शुरु गरिएको बताए।

उनले भने, ‘कहाँबाट यस्तो हावादारी खबर आइरहेको छ। हामीले मेयरसा'बको घरमा छापा हानेका छैनौँ।’

जिल्ला प्रहरी कार्यालय पर्सालाई पनि मेयरको घरमा छापा हानिएको बारे केही जानकारी नरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

उनले भनिन्, ‘मलाई पनि तीन/चार जना पत्रकार साथीहरुले फोन गरिसक्नुभयो तर सय प्रतिशत हो, छापा हानिएको छैन।’

बिहीवार पिपराबाट फर्किरहेको टोली नगरप्रमुखको घरअगाडि केही फोटोमा देखिएको र त्यसैलाई आधार बनाई छापा हानिएको भनी भ्रम फैलाइएको उनले बताइन्।

वाणिज्य तथा आपूर्ति कार्यालय, पर्साका नायब सुब्बा दिलीप खङ्ग खत्वेले नगर प्रमुखको घरमा छापा नहानिएको जानकारी गराउदै गुणस्तरहीन चामलको विषयमा छानबिन भइरहेको बताए। उनले बिहीवार विन्दवासिनीको न्यू बोलबम राइस मिल र सुरज खाद्य उद्योगबाट नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर पठाइएको बताए।

सुरज खाद्य उद्योगबाट महानगरपालिकाले खरिद गरी वडा नम्बर १४ मा पठाएको चामल गुणस्तरहीन भेटिँदा वडाध्यक्ष भरत कुर्मीले स्थानीय प्रहरी प्रशासन र सञ्चारकर्मीलाई जानकारी गराएपछि त्यस विषयमा पनि छानबिन भइरहेको बताए। उनले सुरज खाद्य उद्योगको ९५० किलो चामलमध्येबाट नमुना लिएको र ३० किलो चामलको बोरामा करिब अढाइ सय ग्राम कम तौल भेटिएको पाइएपछि छानबिन अगाडि बढाइएको बताए।

यता वीरगंज महानगरपालिकाका नगर प्रमुख सरावगीले भने आफूलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको बताएका छन्।

‘पिपराबाट टोली फर्किरहेको अवस्थामा मेरो घरलाई चामल उद्योग हो भनेर देखाएर वडाध्यक्ष र केही पत्रकारहरुले फोटो खिचेका छन्। त्यही फोटोको आधारमा मलाई सञ्चार माध्यममा बदनाम गर्ने काम भइरहेको छ’, उनले भने, ‘केही पत्रकारहरुको समूहले निरन्तर तीन वर्षदेखि मेरो विरोध गर्दै आएका छन्। तर, ५ हजार टन चामल वितरण गरिसकेको अवस्थामा ५ बोरा खराब चामल भेटिएपछि राम्रो गरे तापनि बदनाम भइरहेको छु।’

केही बोरामा वर्षातले गोदाममा चिसो भएका कारण ढुसी परेकोले गर्दा यस्तो अवस्था आएको तर ती चामल फिर्ता पठाई राम्रो चामलको माग गरिएको उनले बताए। 

यसैबीच, वाणिज्य कार्यालयले आज वीरगंज–३० लालपर्सामा अनुगमन गर्दा प्रसोतीपुर टोलका तीनवटा पसलले बिल खरिद नदेखाएपछि जरिबाना गरेको जनाएको छ। प्रसोतीपुरका अम्बे स्टोरलाई ५ हजार, बिके स्टोरलाई ३ हजार र विश्वनाथ किराना पसललाई २ हजार रुपैयाँ जरिबाना गरेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell