PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

वीरगंज नाकाबाट लकडाउनमा पौने चार अर्बको समान आयात, एलपिजी ग्यास र औषधि धेरै



राधेश्याम पटेल

वीरगंज नाकाबाट लकडाउनमा पौने चार अर्बको समान आयात, एलपिजी ग्यास र औषधि धेरै

वीरगंज : मुलुककै प्रमुख भन्सार नाका वीरगंजको लकडाउनमा राजस्व असुली प्रभावित भए पनि लकडाउनको समयमा करिब पौने चार अर्बको अतिआवश्यक सामानहरु आयात भएको छ। वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार २४ मार्चदेखि २९ अप्रिल अर्थात् ३५ दिनमा सबैभन्दा बढी एलपिजी ग्यास, त्यसपछि औषधि, कच्चा पदार्थ, डिजेल, पेट्रोल, आलु, गोलभेंडा, फलफूललगायत सामानहरु भित्रिएका छन्।

वीरगंज भन्सार नाकाबाट भारतको विभिन्न राज्य हुँदै १ अर्ब ७८ करोड ३२ लाख २६ हजार मूल्य बराबरको २२ हजार ६७७ टन एलपिजी ग्यास आयात भएको छ भने १ अर्ब ४५ करोड ३७ लाख २७ हजार मूल्य बराबरको ६६ टन औषधि आयात भएको छ। त्यसैगरी, ४० करोड ११ लाख ६६ हजार मूल्य बराबरको ९६४४ किलोलिटर डिजेल आयात भएको छ। १२ करोड ५४ लाख ६७ हजार मूल्य बराबरको ३ सय केएल पेट्रोल वीरगंज नाकाबाट भित्रिएको वीरगंज भन्सारले जनाएको छ।

लकडाउनमा पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी एलपिजी ग्यासको खपत भइरहेकोले एलपिजी ग्यास बुलेट बढी आयात भएको र डिजेल पट्रोलको खपत कम भएकोले ती सामानहरु कम आयात भएको वीरगंज भन्सारको तथ्यांकले देखाएको छ।

त्यसैगरी, ४ करोड ३ लाख ८५ हजार मूल्य बराबरको १ लाख ७१ हजार ७ सय किलो आलु, १ करोड १७ लाख मूल्य बराबरको ८ लाख ६१ हजार किलो गोलभेंडा, ३ करोड ५७ लाख मूल्य बराबरको ५२ हजार किलो प्याज र अन्य तरकारी २ करोड ६८ लाख बराबरको १० लाख ६७ हजार किलो भित्रिएको छ। साथै फलफूलमा केरा, खरबुजा, अङ्गुर, स्याउ, मेवा र अन्य गरी करीब ८ करोड आयात भएको भन्सारले जनाएको छ। तरकारीको आयातमा भन्सार महसूल शून्य, ५ प्रतिशत कृषि सुधार र ५ प्रतिशत अग्रीम आयकर लाग्छ भने औषधिमा ५ प्रतिशत भन्सार महसूल मात्र लाग्ने गरेको छ।

एलपिजी ग्यासमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटको नियम रहे पनि सरकारले १० प्रतिशत अनुदान दिने गरेको छ। डिजेलमा २ हजार रुपैयाँ प्रतिकिलो लिटर भन्सार महसुल, २ रुपैयाँ प्रतिलिटर सडक मर्मत सम्भार दस्तुर र ५ रुपैयाँ प्रतिलिटर पूर्वाधार विकास कर लाग्ने गरेको भन्सार कार्यालयले जनाएको छ।

पेट्रोलमा १५ हजार २ सय प्रति केएल भन्सार महसुल, १३ प्रतिशत भ्याट, प्रतिलिटर रु ५ पूर्वाधार विकास कर र रु २ सडक सम्भार दस्तुर लाग्ने गरेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell