PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भारतबाट धमाधम हुँदैछ हरियो तरकारीको आयात, स्थानीय उत्पादनले भने पाएनन् बजारसम्म पुग्न



राधेश्याम पटेल

भारतबाट धमाधम हुँदैछ हरियो तरकारीको आयात, स्थानीय उत्पादनले भने पाएनन् बजारसम्म पुग्न

वीरगंज : वीरगंजमा भारतबाट आयातित हरियो तरकारीको दबदबा कायम छ। यहाँका हरेक जसो भान्सामा गोलभेँडा, हरियो खुर्सानी, कटहर, बोडी, कोसा, भिन्डी, भन्टा, परवल, सिमी, मुला, गाँजरलगायत भारतीय तरकारी उपयोग भइरहेका छन्।

भारतबाट आलु, प्याज, लसुनको आयात उसले प्रतिबन्ध लगाउँदा बाहेक सदाबहार रूपमा भइरहेकै छ। बितेका वर्षहरूमा मौसमी हरियो तरकारी वीरगंज आसपासका ग्रामीण क्षेत्रहरूबाट नै पर्याप्त आएकाले यहाँ आलु, प्याज, लसुनबाहेक भारतीय हरियो तरकारी कमै आउँथ्यो। तर, यसवर्ष लकडाउनको कारण ग्रामीण क्षेत्रबाट स्थानीय हरियो तरकारी वीरगंज छिर्न नपाएपछि भारतीय तरकारीको वर्चस्व बढेको तरकारी व्यवसायीहरूले बताएका छन्।

लकडाउनको कारण देखाउँदै प्रहरीले नेपाली कृषकलाई हरियो तरकारी वीरगंज ल्याउन दिइरहेको छैन। पर्सा र बाराका ग्रामीण क्षेत्रबाट वीरगंजमा हरियो तरकारी ल्याउन चाहने कृषकहरूलाई प्रहरीले अवरोध गरेको र कतिपय किसानले यातनासमेत पाएको बारा डमरापुरका किसान नारायण साहले बताएका छन्।

त्यसैगरी, पर्साको झौवाबाट साइकलमा भिन्डी र बोडी बोकेर वीरगंजतर्फ आइरहेको बेला तिलावे नजिक तैनाथ प्रहरीले लकडाउन छ भन्दै घर फिर्ता पठाएको कृषक भोलु दासको गुनासो छ। वीरगंज महानगरपालिकाको क्षेत्रभित्र उत्पादित हरियो तरकारी बजारसम्म पुग्न पाएको छैन। नगर क्षेत्रकै उपभोक्ताले भने भारतीय हरियो तरकारी महँगो मूल्य तिरेर उपभोग गरिरहेका छन्। मुर्ली चोक र नगवा चोकमा ४० रुपैयाँ प्रतिकिलोमा स्थानीय गोलभेँडा बिक्री भइरहँदा रानीघाटमा ७० रुपैयाँ प्रतिकिलोमा भारतीय गोलभेँडा खरिद गर्नुपरेको अशोक वाटिकाका सुमेश्वरनाथ तुरहाले बताए।

‘नगवाको तरकारी प्रहरीले रानीघाट आइपुग्नै दिदैन। लाठी लगाएर लखेट्छ। लुकीछिपी तरकारी बेच्नेहरूसँग खरिद गर्नुपर्दा महँगो र गुणस्तरहीन पर्छ,’ उपभोक्ता तुरहाले भने, ‘सरकारले कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन रोकटोक नगर्नू, सहयोग गर्नू भनेको छ तर यहाँ त बजारसम्म तरकारी पुर्‍याउने अनुमति पाससमेत पाउँदैन, किसानले।’

वीरगंज-१७ अलौंका किसान बद्रीनाथ उपाध्यायले स्थानीय तहको सिफारिसलाई प्रहरीले मान्यता नदिएपछि सिफारि लिन जिल्ला प्रशासन कार्यालय पर्सामा दुई दिन धाउँदा पनि पास नपाएको गुनासो गरे।

‘प्रजिअ र प्रहरी उपरीक्षकले किसानलाई दुःख नदिनू भनेको समाचार सुनेका छौँ तर सडकमा खटेका प्रहरीले सो निर्देशन मानिरहेका छैनन्। किसानले प्रशासनिक हाकिमसँग भेट गर्नै पाउँदैनन्,’ उपाध्ययले भने।

वीरगंज-१० घर बताउने अकलु यादवले ठेलामा भारतीय तरकारी टोलटोलमा पुर्‍याएर बेच्ने गरेको बताए। ट्याम्पो चालक यादव लकडाउन शुरू भएपछि तरकारी व्यापारमा लागेका हुन्। थोक विक्रेताकहाँ गएपछि भारतीय तरकारी सजिलै उपलब्ध हुने तर नेपाली तरकारी नपाउने भएकोले भारतीय तरकारी नै बेच्नुपरेको उनले बताए। थोक विक्रेताहरूका अनुसार भारतीय तरकारी भन्सार पास गरेर आयात हुने गरेको छ।

लकडाउन नहुँदा बारा र पर्साका तरकारी कृषकहरू तरकारी बोकेर आफैँ आउने गरेकामा लकडाउन शुरू भएपछि उनीहरू आउन छाडेका थोक विक्रेताहरूको भनाइ छ। लकडाउन अवधिमा नगर क्षेत्रमा पर्सा र बारामा उत्पादित हरियो तरकारी नगन्य मात्रामा बिक्री भइरहेको थोक विक्रेताहरू बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell