काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको प्रतिक्रिया दिएका छन्।
संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस पीसीआर परीक्षणका लागि स्वाब दिएपछि सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रियामा प्रचण्डले एक\दुई दिनभित्र बैठक बोलाउने बताए। उनले भने,' गृहकार्य नपुगेकै हो। दुबै अध्यक्षले एक\दुई दिनभित्र बैठक बोलाउँछौं।'
बिहीवारका लागि डाँकिएको स्थायी कमिटी बैठक बुधवार स्थगित भएको थियो।
एजेण्डा तय गर्न बुधवार बसेको सचिवालय बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा थाकेको भन्दै निस्किएपछि बैठक प्रभावित भएको थियो। त्यसपछि दुई अध्यक्षको छुट्टै छलफल गरेर बैठक स्थगित गरेका थिए।
बैठक नबस्ने भएपछि आजै पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरु भेला भएका थिए।
उनीहरु बैठक बोलाउन नेतृत्वलाई दवाव दिने निष्कर्षमा पुगेका छन्। स्थायी कमिटीको माग गर्दै २० सदस्यले वैशाख १० गते लिखित माग गरेका थिए। आन्तरिक किचलोका कारण बैठक अनिश्चित भएको छ।
आज संघीय संसदमा सांसदहरु र कर्मचारीहरुको स्वाब पिसिआर परीक्षणका लागि संकलन गरिएको छ। भोलिबाट संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाब संकलन गरिएको हो।
अध्यक्ष प्रचण्डले संसद बैठकको तयारी राम्रो देखेको बताए। प्रचण्डले संसदमा ढुक्कसँग बैठक बस्न सक्ने वातावरण बनेको सुनाए।