ह्वाइट हाउसले कोरोना भाइरस ‘टास्कफोर्स’ खारेज गर्ने निर्णय गरेको २४ घण्टा पनि नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘टास्कफोर्स’ यथावत रहने बताएका छन्।
कोरोनाको संक्रमणबाट ७० हजार बढीको मृत्यु भइरहँदा ‘टास्कफोर्स’ खारेज गर्ने विवादित निर्णय उल्टाउँदै राष्ट्रपति ट्रम्पले ‘टास्कफोर्स’ यथावत रहने बताएका हुन्। कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा विश्वमै सबैभन्दा धेरै छ।
२२ सदस्यीय ह्वाइट हाउस कोरोना भाइरस ‘टास्कफोर्स’ गत जनवरीको अन्त्यतिर गठन गरिएको थियो। जसको अध्यक्ष उपराष्ट्रपति माइक पेन्स हुन्।
बुधवार श्रृंखलाबद्ध ट्विट गर्दै राष्ट्रपति ट्रम्पले ‘टास्कफोर्स’ सफल रहेकाले यसलाई निरन्तरता दिने जानकारी गराएका हुन्।
उनले ट्विटमा लेखेका छन्, ‘सुरक्षा र राष्ट्रलाई पुनः खुला गर्ने काममा केन्द्रित हुँदै टास्कफोर्सलाई निरन्तरता दिइनेछ। यसमा आवश्यकताअनुसार सदस्य थपघट गर्न सकिनेछ। टास्कफोर्स खोप उत्पादन र उपचारमा पनि केन्द्रित हुनेछ।’
....gloves, gowns etc. are now plentiful. The last four Governors teleconference calls have been conclusively strong. Because of this success, the Task Force will continue on indefinitely with its focus on SAFETY & OPENING UP OUR COUNTRY AGAIN. We may add or subtract people ....
— Donald J. Trump (@realDonaldTrump) May 6, 2020
यसअघि बुधवार नै ह्वाइट हाउसले कोरोना भाइरस ‘टास्कफोर्स’ खारेज गर्ने निर्णय गरेको थियो। ‘टास्कफोर्स’का प्रमुख उपराष्ट्रपति पेन्सले एक साताभित्र टास्क फोर्स बन्द हुने बताएका थिए।